काठमाडौं । लिवर्टी इनर्जी कम्पनी लिमिटेडले बुधवार (आज)बाट अवितरित ८ लाख २६ हजार ५७४ कित्ता हकप्रद शेयर लिलामीमा ल्याएको छ ।
कम्पनीले यसअघि ५० प्रतिशत हकप्रद शेयर निष्कासन तथा विक्री गर्दा वितरण हुन नसकेको यी शेयर लिलामी प्रक्रियाबाट विक्री गर्न लागेको हो । कम्पनीले सर्वसाधारण समूहको उल्लेखित कित्ता शेयर भने विक्री हुन नसकेको हो । यी शेयर खरीदका लागि इच्छुक लगानीकर्ताले माघ ९ गतेभित्र गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।
कम्पनीले शेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकेको छ । आवेदकहरूले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । बोलकबोल पेश गर्दा न्यूनतम १०० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतम सीमाका लागि कुनै हद तोकिएको छैन ।
यी शेयर निष्कासन तथा विक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले विक्री प्रबन्धकका साथै प्रभु बैंकका विराटनगर, वीरगञ्ज, जाउलाखेल, हेटौंडा, पोखरा, बुटवल, सुर्खेत र धनगढी शाखा कार्यालयबाट बोलपत्र आवेदन फाराम प्राप्त गर्न पेश गर्न सक्नेछन् ।
हाल कम्पनीको चुक्तापूँजी १ अर्ब ५० करोड रुपैयाँ छ । ५० प्रतिशत हकप्रद शेयरमध्ये लिलामीमा आएको सम्पूर्ण कित्ता शेयर बाँडफाँटपछि कम्पनीको चुक्तापूँजी २ अर्ब २५ करोड रुपैयाँ कायम हुनेछ ।