काठमाडौं । पुस मसान्तको 'दबाब' कम्पनीहरूमा निकै रहेको देखिन्छ । चालू आर्थिक वर्षको ६ महीनाभित्र वार्षिक साधारण सभा गरिसक्नुपर्ने अवस्थामा धेरै कम्पनीहरूले पुसभित्रै वार्षिक साधारण सभा गर्न लागेका छन् ।
यो महीना लाभांश सुरक्षित गर्ने महीनाका रूपमा पनि लगानीकर्ताले हेरेका छन् । पुस मसान्तभित्र अधिकांश कम्पनीहरूले वार्षिक साधारण सभा सक्ने हुँदा यो महीनामा धेरै कम्पनीले बुक क्लोज गर्छन् । मंगलवार मात्र ६ कम्पनीहरूको लाभांश सुरक्षित गर्ने अन्तिम मौका रहेको छ ।
लक्ष्मी सनराइज बैंक, साना किसान विकास लघुवित्त, सांग्रिला डेभलपमेन्ट बैंक, डिप्रोक्स लघुवित्त, शिवम् सिमेन्ट्स र आईसीएफसी फाइनान्सको लाभांश सुरक्षित गर्नका लागि आज अन्तिम मौका हो । यी कम्पनीहरूले वार्षिक साधारण सभा र लाभांश प्रयोजनका लागि भोलि (पुस १७ गते) बुक क्लोजको मिति तय गरेको आधारमा मंगलवारसम्म शेयर कायम गर्नुपरेको हो ।
लक्ष्मी सनराइज बैंक हाल कायम चुक्तापूँजीको आधारमा गत वर्षको मुनाफाबाट ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव २६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारितका लागि कम्पनीले यही पुस २४ गते काठमाडौंको कमलपोखरीस्थित अग्रवाल भवनमा बिहान ११ बजे साधारण सभा बोलाएको छ ।
त्यस्तै, शिवम् सिमेन्टले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा ८ दशमलव ५५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ४५ प्रतिशत नगद लाभांश वितरण गर्ने तयारी गरेको छ । उक्त प्रस्ताव पारितका लागि कम्पनीले यही पुस २९ गते काठमाडौंको भृकुटीमण्डपस्थित राष्ट्रिय सभा गृहमा बिहान ९ बजे साधारण सभा बोलाएको छ ।
सांग्रिला डेभलपमेन्ट बैंकले भने हाल कायम चुक्तापूँजीको आधारमा ३ दशमलव ६५१६ प्रतिशतका दरले बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव १९२२ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । कम्पनीले उक्त प्रस्ताव पारित गर्न यही पुस २९ गते काठमाडौंको बालुवाटारस्थित आम्रपाली ब्याङ्क्वेटमा बिहान साढे १० बजे सभा बोलाएको छ ।
त्यसैगरी आइसिएफसि फाइनान्सले भने हाल कायम चुक्तापूँजीको ५ दशमलव २६३२ प्रतिशतका दरले करसमेत नगद लाभांश वितरण गर्ने भएको छ । कम्पनीले उक्त लाभांश प्रस्ताव पारित गर्न यही पुस २९ गते काठमाडौंको बौद्ध पीपलबोटस्थित बौद्ध हेरिटेजमा बिहान १० बजे सभा बोलाएको हो ।
डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले गत वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा ९ दशमलव ५० प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ शून्य दशमलव ५० प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । उक्त प्रस्ताव पारितका लागि कम्पनीले यही पुस २६ गते चितवनको सौराहास्थित होटल सेभेन स्टारमा बिहान १० बजे साधारण सभा बोलाएको छ ।
साना किसान विकास लघुवित्त वित्तीय संस्थाले १३ दशमलव ३० प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ शून्य दशमलव ७० प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । उक्त प्रस्ताव पारितका लागि कम्पनीले यही पुस २३ गते भक्तपुरको बोडेस्थित कृषि विकास बैंकको केन्द्रीय तालिम प्रतिष्ठानमा बिहान १० बजे सभा बोलाएको छ ।