काठमाडौं । लक्ष्मी क्यापिटल मार्केट लिमिटेडले लक्ष्मी भ्यालु फण्ड २ को इकाई भोलि (शुक्रवार)देखि विक्रीमा ल्याउने भएको छ ।
क्यापिटलकै व्यवस्थापनमा सञ्चालन हुने यस फण्ड सञ्चालनका लागि प्रतिइकाई रू. १० अंकित मूल्यमा रू. ८० करोड बराबरको ८ करोड इकाई विक्री गर्न लागिएको हो । कुल इकाईमध्ये १५ प्रतिशत दरको १ करोड २० लाख इकाई कोष प्रवर्द्धक लक्ष्मी बैंकलाई सुरक्षित गरिएको छ ।
योबाहेक बाँकी रू. ६ करोड ८० लाख इकाई आम सर्वसाधारणमा जारी गर्न लागिएको हो । यस फण्डको इकाई खरीदका लागि न्यूनतम १०० इकाईदेखि अधिकतम ८० लाख इकाईसम्म माग गर्न सकिने व्यवस्था छ ।
साउन ९ गतेसम्म आवेदन दिन सकिने गरी विक्रीमा ल्याउन लागिएको यो इकाई सो समयसम्म मागबमोजिम आवेदन नपरेमा भने साउन १९ गतेसम्म विक्री अवधि थप हुनेछ ।
विक्री खुला भएको निवेदन दिने अवधि तथा बोर्डबाट थप भएको अवधिभित्र कम्तीमा ५० प्रतिशत अर्थात् ४ करोड इकाई खरिद गर्न निवेदन प्राप्त भएमा इकाईको बाँडफाँट गर्न सकिने व्यवस्था छ । अन्यथा न्यूनतम संख्यामा इकाई विक्री नभएमा योजना खारेज गरी १५ दिनभित्र निवेदकहरूको रकम फिर्ता गर्न भुक्तानी प्रक्रिया शुरु गरिने योजना व्यवस्थापकले जानकारी दिएको छ ।
यस फण्डको इकाई निष्कासन तथा विक्री प्रबन्धकको जिम्मेवारीसमेत लक्ष्मी क्यापिटल मार्केट लिमिटेडले नै पूरा गर्नेछ । १० वर्षे अवधिको बन्दमुखी प्रकृतिको यस फण्डको इकाई खरीदका लागि विक्री प्रबन्धकसँगै नेपाल धितोपत्र बोर्डबाट अनुमतिप्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएको कार्यालयबाट आवेदन दिन सकिनेछ । साथै मेरो शेयर सफ्टवेयरमार्फत समेत आवेदन दिन सकिने व्यवस्था छ ।