काठमाडौं । विप्रेषण आप्रवाहका कारण बैंक, वित्तीय संस्थामा निक्षेप लगातार वृद्धि भए पनि कर्जा प्रवाह भने सुस्त देखिएको छ । निक्षेप वृद्धिसँगै बैंकहरूले ब्याजदर घटाउँदै लगे पनि आर्थिक गतिविधि बढ्न नसक्दा निजीक्षेत्रमा कर्जा विस्तार हुन सकेको छैन ।
नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्ष (आव) २०८१/८२ को फागुनसम्ममा बैंक, वित्तीय संस्थाहरूको कर्जा ३ खर्ब ४ अर्ब ८२ करोडले वृद्धि भएको छ । गत आवको तुलनामा बैंकहरूको कर्जा प्रवाह ६ प्रतिशतले बढेको राष्ट्र बैंकले बताएको छ ।
राष्ट्र बैंकले मौद्रिक नीतिमा चालू आवमा बैंकहरूबाट कर्जा निजीक्षेत्रतर्फ जाने कर्जा वृद्धिदर १२ दशमलव ५ प्रतिशत अर्थात् साढे ६ खर्ब हुने प्रक्षेपण गरेको छ । तर, ८ महीनामा लक्ष्यको तुलनामा आधाभन्दा पनि कम मात्र कर्जा विस्तार भएको छ ।
आर्थिक गतिविधि चलायमान नहुँदा कर्जा विस्तार सुस्त रहेको बैंकरहरू बताउँछन् । नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोइराला ब्याजदर न्यून विन्दुमा झरे पनि कर्जाको माग खासै बढ्न नसकेको बताउँछन् ।
तर, पछिल्ला महीनामा आयात वृद्धि हुँदा बैंकहरूको कर्जा विस्तारमा केही सुधार देखिएको राष्ट्र बैंकले बताएको छ । चालू आवको फागुनसम्ममा बैंक, वित्तीय संस्थाबाट प्रवाहित कर्जामध्ये सबैभन्दा बढी आयात कर्जाको वृद्धिदर उच्च देखिएको छ । बैंकहरूले आयातका लागि प्रवाह गर्ने ट्रस्ट रिसिप्ट कर्जा ५८ दशमलव १ प्रतिशतले बढेको छ । यसबाहेक मार्जिन प्रकृतिको शेयर धितो कर्जा ३१ दशमलव ५, आवधिक कर्जा ३ दशमलव ७, हायर पर्चेज कर्जा ४ दशलमव ७ प्रतिशतले, नगद प्रवाह कर्जा ३ दशमलव ६ प्रतिशतले र रियल इस्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जासमेत) ५ दशमलव ९५ प्रतिशतले बढ्दा अधिविकर्ष (ओभरड्राफ्ट) कर्जा १२ दशमलव ६ प्रतिशतले घटेको छ ।
सोमवारसम्ममा बैंक, वित्तीय संस्थाहरूले ६८ खर्ब १८ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ५४ खर्ब ८९ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । यस दिन बैंकहरूको कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ७९ दशमलव २७ प्रतिशत छ ।
बैंकहरूले ९० प्रतिशतसम्म सीडी रेसियो कायम गरी कर्जा दिन पाउने व्यवस्था भएकाले बैंकहरूसँग थप ७ खर्ब १८ अर्ब रुपैयाँ कर्जा विस्तार गर्न सक्ने क्षमता छ ।
कर्जा विस्तार नहुँदा बैंकहरूबाट ठूलो परिणाममा केन्द्रीय बैंकले तरलता प्रशोचन गरिरहेको छ । चालू आवको चैत २८ गतेसम्ममा राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट निक्षेप संकलन बोलकबोलमार्फत २१ खर्ब ८२ अर्ब ५ करोड र स्थायी निक्षेप सुविधामार्फत १४८ खर्ब ८० अर्ब ६५ करोड गरी कुल १७० खर्ब ६२ अर्ब ७० करोड रुपैयाँ तरलता प्रशोचन गरेको छ । त्यसमध्ये २ खर्ब ४९ अर्ब रुपैयाँ राष्ट्र बैंकमा मौज्दात छ ।