काठमाडौं । दुग्ध व्यवसायीले नेपालकै मौलिक उत्पादन मोहीलाई स्वदेशी ब्रान्डका चिसो पेयजस्तै लेबलिङ र प्याकेजिङ गरेर विक्री गर्न थालेसँगै यसको व्यापार अपार बन्दै गएको छ । ब्रान्डिङ, लेबलिङ र प्याकेजिङको परिणामस्वरूप मोहीको दैनिक खपत करीब २५ हजार लिटरसम्म पुगेको छ ।
यतिबेला काठमाडौं उपत्यकाभित्र र बाहिर गरी करीब २ दर्जन डेरी उद्योगले मोहीलाई लेबलिङ र प्याकेजिङ गरी ब्रान्डकै रूपमा विक्री गर्न थालेको नेपाल डेरी एशोसिएशनले बताएको छ । एशोसिएशनका अनुसार ललितपुरको नवप्रभात डेरी, चितवनको पवन डेरी, पोखराको बजगाईं डेरी, पोखराकै हिमाल डेरी, धनकुटाको राजु डेरी, झापाको पूर्वार्द्ध डेरी, बुटवलको शिवगंगा डेरी, रूपन्देहीको लस्कुन डेरी र ग्लोबल डेरी लगायतले विभिन्न नाम दिएर मोहीको ब्रान्डिङ गरी विक्री गरिरहेका छन् ।
नेपालकै मौलिक उत्पादनलाई प्रवर्द्धन गर्ने उद्देश्यले मोहीको ब्रान्डिङ गरेर विक्री गर्न थालिएको एशोसिएशनका अध्यक्ष तथा नवप्रभात डेरीका सञ्चालक प्रह्लाद दाहालले बताए । दाहालका अनुसार विभिन्न विदेशी ब्रान्डका चिसो पेय पदार्थले बजार कब्जा गरेको अवस्थामा नेपालको मौलिक उत्पादनलाई ब्रान्डको रूपमा स्थापित गर्न एशोसिएशनले करीब २ वर्षअघि प्रयास थालेको हो ।
‘दुई वर्षअघिदेखि दरबारमार्गमा हरेक शनिवार लाग्दै आएको रैथाने कृषि बजारमा एशोसिएशनले परम्परागत रूपले ठेकीमा मोही उत्पादन गरी निःशुल्क वितरण गरिरहेको छ,’ उनले भने, ‘यस अवधिमा करीब २ लाख जनालाई २० लाख रुपैयाँ बराबरको २५ हजार लिटर मोही निःशुल्क सेवन गराइएको छ । यसैको प्रभावस्वरूप आम मानिसमा मोहीप्रतिको मोह बढेको हो । फलस्वरूप गर्मी बढ्दै गएसँगै केही साताभित्रै मोहीको खपत दैनिक १० हजार लिटरबाट बढेर २५ हजार लिटर पुगेको हो ।’
डेरी उद्योगीहरूका अनुसार बोतलमा प्याक गरिएको मोही ४ डिग्री सेल्सियसमा राख्दा ८ दिनसम्म प्रयोग गर्न सकिन्छ । यद्यपि, यसलाई कसरी लामो समयसम्म स्टोर गरेर राख्न सकिन्छ भनेर प्राविधिक रूपमा अध्ययन भइरहेको छ ।
यसअघि डेरी पसलमा मात्रै विक्री हुने मोहीको ब्रान्डिङ गरेपछि विभिन्न मार्ट तथा सुपरमार्केटमा समेत विक्री हुन थालेको छ । पछिल्लो समय मोहीमा सबै उमेरसमूहको आकर्षण बढ्दै गएको पाइन्छ । एक लिटर मोहीलाई यतिबेला ६० देखि ८० रुपैयाँसम्म पर्ने गरेको व्यवसायी बताउँछन् ।
चिसो पेयको विकल्प
विवाह, व्रतबन्ध तथा भोजभतेरहरूमा ठूलो परिमाणमा विभिन्न विदेशी ब्रान्डका चिसो पेयको विकल्पका रूपमा मोहीको प्रयोग बढ्दै गएको व्यवसायी बताउँछन् ।
बुटवलको शिवगंगा डेरीका सञ्चालक विजय सापकोटाले बुटवल क्षेत्रमा विवाह, व्रतबन्ध तथा भोजभतेरहरूमा चिसो पेयको विकल्पको रूपमा मोहीको माग बढ्दै गएको बताए । उनका अनुसार विगत वर्षहरूमा यस्ता समारोहहरूमा विदेशी ब्रान्डका चिसो पेयको प्रयोग हुने गरेकोमा हाल मोहीको माग बढ्दो छ ।
‘यस्ता समारोहमा मोहीको माग वृद्धि हुन थालेपछि मोही उत्पादन शुरू गरेको हुँ । करीब १ साताअघि १५ लिटरबाट उत्पादन शुरू गरेकोमा अहिले दैनिक ३५० लिटरसम्म उत्पादन भइरहेको छ । उत्पादन भए जति सबै खपत हुने गरेको छ । विशेष गरी भोजभतेरहरूबाट माग बढेको छ,’ उनले आर्थिक अभियानसँग भने ।