काठमाडौं । उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले २ लाख अमेरिकी डलरभन्दा बढी लगानी गर्ने वैदेशिक लगानीकर्तालाई घर वा फ्ल्याट किन्न दिन पाउने व्यवस्था गर्न सरकारलाई सिफारिस गरिएको छ ।
आयोगले वैदेशिक लगानीकर्तालाई सहज वातावरण तयार गर्न २ लाख डलरभन्दा बढी लगानी गर्ने वा नेपालको बैंकमा निक्षेप राख्ने लगानीकर्ताका लागि निश्चित शर्त राखेर आवास प्रयोजनका लागि घर वा फ्ल्याट खरीद गर्न पाउने व्यवस्था गर्न सुझाव दिएको हो ।
आयोगले आज उक्त प्रतिवेदन सरकारसमक्ष प्रस्तुत गरेको हो । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलसमक्ष आयोगका अध्यक्ष रामेश्वरप्रसाद खनालले आज अर्थमन्त्रालयमा उक्त प्रतिवेदन प्रस्तुत गरेका हुन् ।
प्रतिवेदन पेस गर्नुहुँदै अध्यक्ष खनालले समग्र माग पक्ष कमजोर हुनु, लगानीमा ह्रास आउनु, कर्जा विस्तार बढ्न नसक्नु, घरजग्गा कारोबार खुम्चिनुलगायत देशको समग्र अर्थतन्त्रमा देखिएका समस्याका कारण आर्थिक अवसर सिर्जना गर्न नसकिएको बताए ।