काठमाडौं । जोखिम लिने, सर्वस्व लगानी गर्ने तथा राजस्व र रोजगारीमा निरन्तर योगदान दिने निजीक्षेत्रले आवश्यक मान–सम्मान नपाएको निजीक्षेत्रका प्रतिनिधिहरूले गुनासो गरेका छन् ।
निजीक्षेत्रको मानमर्दन, अपहेलना र असुरक्षित भएको भन्दै यस्तो अवस्थमा मनोबल जुटाउन कठिन भएको उनीहरूको तर्क छ ।
‘त्यसैले हामीले सुरक्षाको विषय उठाएका हौं । सम्मानको विषय उठाएका हौं । मर्यादाक्रमको विषय उठाएका हौं । यसमा राज्यको कुनै लगानी हुँदैन । मात्र सद्भाव चाहिएको हो,’ नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले बिहीवार महासंघको ५९औं वार्षिक साधारणसभा उद्घाटन सत्रमा भने ।
उनले व्यवसायीको मनोबल अहिले पनि नबढेको गुनासो गर्दै सर्वेक्षणले पनि यही देखाएको बताए । ‘चालू आर्थिक वर्षको आर्थिक वृ द्धि राम्रो देखिए पनि हामीले मुलुकभरका २४० ओटा व्यावसायिक संस्थामा गरेको सर्वेक्षणले उद्यमी व्यवसायीको मनोबल नबढेको देखाएको छ,’ ढकालले भने ।
उनका अनुसार निजीक्षेत्रले ८६ प्रतिशतलाई रोजगारी दिए पनि हरेक वर्ष श्रमबजारमा आउने ५ लाख युवालाई रोजगारी दिन सक्ने क्षमता निजीक्षेत्रसँग छैन । सरकारले अघि सारेका कार्यक्रम सफल हुन निजीक्षेत्रको सम्मान हुनुपर्नेमा उनले जोड दिए ।
महासंघका उपाध्यक्ष अञ्जन श्रेष्ठले निजीक्षेत्रलाई नाफा गरेकोमा नराम्रो मान्ने प्रवृ त्ति अन्त्य गर्नुपर्नेमा जोड दिए । उनले निजीक्षेत्र साक्षी मात्रै नभई सरकारको सहयात्रीको रूपमा रहेको बताए । निजीक्षेत्रले नाफा नकमाए पूँजी निर्माण नहुने भन्दै उनले थपे, ‘यो क्षेत्र नाफाखोर नभई अर्थतन्त्रको मेरूदण्ड हो ।’
उक्त अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले निजीक्षेत्रले सरकारलाई पनि सँगसँगै हिँड्न बाध्य गराउनुपर्ने बताउनुभएको छ । निजीक्षेत्रका उद्यमी व्यवसायीहरू आत्मविश्वासका साथ देश विकासमा लाग्नु सराहनीय भएको भन्दै उहाँले सरकारलाई पनि प्रतिबद्ध बनाउँदै सँगसँगै हिँड्न बाध्य बनाउन सुझाव दिनुभयो । ओलीले निजीक्षेत्रलाई प्रोत्साहित र संरक्षित गरेर नै सरकार अघि बढ्ने बताउनुभएको छ । मुलुकको अर्थतन्त्र सन्तोषजनक अवस्थामा नभएको भन्दै उहाँले थप्नुभयो, ‘सरकारले पनि निजीक्षेत्रबाट प्रतिबद्धता चाहेको छ, निजीक्षेत्रका सुझावलाई गम्भीरतापूर्वक लिइएको छ ।’
निजीक्षेत्रकै सुझावका आधारमा नीतिगत सुधारहरू गरिरहेको भन्दै उनले सरकार र सरकारी नीतिहरू छिटोछिटो बदलिले प्रक्रियालाई निरुत्साहित गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो । सरकारलाई सही सुझाव दिन आन्दोलन गरिरहनु नपर्ने तर्क पनि उहाँले गर्नुभयो ।
‘मुलुकमा धेरै कुरा आयात भइरहेका छन्, नेपाली मञ्जनले ब्रस गर्ने र साबुनले नुहाउने दिन आउनुपर्छ,’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘प्रविधिको इनोभेशनमा पनि निजीक्षेत्रबाट काम होस् ।’
उक्त अवसरमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सरकारले लगानीमैत्री वातावरण बनाउन तेस्रो लगानी सम्मेलनदेखि नै आठओटा कानून र केही महीनाअघि मात्रै लगानीसम्बन्धी थप २९ ओटा ऐन नियम संशोधन गरेको बताए ।