काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले हाल मुलुकका केही स्थानका पशु चौपायामा लम्पी स्किन र अफ्रिकन स्वाइन फ्लू देखापरेको भन्ने सञ्चारमाध्यममा आएको समाचारमा ध्यानाकर्षण भएको जनाउँदै रोगको वस्तुगत स्थिति अध्ययन गरी तत्काल नियन्त्रणका लागि प्रभावकारी उपाय पहिचान गर्न मातहतका निकायहरूलाई परिचालन गरिएको जनाएको छ ।
कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीको अध्यक्षतामा आज बसेको सम्बन्धित अधिकारीहरूको बैठकले पशु सेवा विभाग अन्तर्गतका वरिष्ठ पशु चिकित्सकको नेतृत्वमा पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, प्रदेश मन्त्रालय अन्तर्गतका सम्बन्धित अधिकृत र स्थानीय तहसमेतको सहभागितामा टोली गठन गरि तत्काल रोग देखा परेका क्षेत्रमा परिचालन गर्ने निर्णय भएको मन्त्री अधिकारीको सचिवालयले जनाएको छ ।
रोगको वस्तुस्थितिको दैनिक/आवधिक रिपोर्टिङ पशु सेवा विभागले मन्त्रालयका पशु स्वास्थ्य महाशाखाका वरिष्ठ पशु चिकित्सक डा. तपेन्द्रप्रसाद बोहोरालाई गराउनेगरी फोकल पर्सन तोकिएको पनि मन्त्रालयले जनाएको छ ।
बैठकले वर्षायाम शुरुआत हुने क्रमसँगै देखा पर्ने लामखुट्टेलगायतका कीराहरूबाट सर्ने पशुको रोगहरूको जोखिम आँकलन गरी रोग नियन्त्रण र खोप कार्यका लागि आवश्यक पर्ने खोप सहितका आवश्यक वस्तु र पारिश्रमिकसमेतको लागत तयार गरी रोग नियन्त्रण कार्य तीनवटै तहका सरकारको सहभागितामा हुने गरी परिचालनका लागि स्रोत व्यवस्थापन समेतको आँकलन गर्न पशु सेवा विभागलाई निर्देशन दिएको छ ।