काठमाडौं । ऊर्जामन्त्री शक्तिबहादुर बस्नेतले लोडसेडिङ हुन लागेको हल्लामा विश्वास नगर्न आग्रह गरेका छन् ।
बुधवार प्रतिनिधि सभा अन्तरगतको अर्थ समितिको बैठकमा बोल्दै मन्त्री बस्नेतले पत्रपत्रिकामा आएका समाचारमा कुनै सत्यता नभएको बताउँदै लोडसेडिङ हुन लागेको भन्ने हल्लामा विश्वास नर्गन आग्रह गरेका हुन् ।
‘भारतबाट हामीले हरेक वर्ष प्रतिस्पर्धी बजारबाट बिजुली ल्याउन म्याद नवीकरण गर्नुपर्छ । अहिले हामी म्याद थप गर्ने प्रक्रियामा छौं । अहिले जे जस्तो हल्ला सुनिएको छ, त्यो सबै मिथ्या हो, ‘ उनले भने ।
यद्यपि, करीब ३ महिनादेखि भारत सरकारले प्रतिस्पर्धी बजारबाट आयात गर्न दिने अनुमति नवीकरणका लागि आनाकानी गर्दै आएको छ । अहिले प्राधिकरणले आन्तरिक माग पूरा गर्न करीब ६०० मेगावाटभन्दा बढी आयात गरेको अवस्था छ ।
बिजुली आयात गर्ने अनुमति नवीकरणमा भारतले आनाकानी गरेपछि ऊर्जासचिव गोपालप्रसाद सिग्देलले मंगलवार भारतका ऊर्जासचिवसँग टेलिफोन वार्तासमेत गरेका थिए ।