काठमाडौं । सगरमाथा इन्स्योरेन्ससँग मर्जर प्रक्रियामा रहेको लुम्बिनी जनरल इन्स्योरेन्स कमपनी लिमिटेडले फागुन ११ गते १८औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।
सभाले मर्जरका लागि तय भएको शेयर स्वाप रेसियोलाई स्वीकृति प्रदान गर्दै प्रस्तावित कुल ७ दशमलव ३६ प्रतिशत लाभांशसमेत पारित गरेको छ । सगरमाथा इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्स १०० बराबर ८० शेयर स्वाप रेसियोका आधारमा मर्जरमा जान लागेका हुन् ।
मर्जरपछि सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीको नामबाट एकीकृत कारोबार गर्ने निर्णय पनि सभाले गरेको छ । शेयर स्वाप रेसियोअनुसार एकीकृत कारोबारपछि हाल लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको १०० कित्ता शेयर हुनेले ८० कित्ता शेयर प्राप्त गर्नेछन् । सगरमाथा इन्स्योरेन्सका शेयरधनीको हकमा भने १०० कित्ता शेयर बराबर १०० नै कायम हुनेछ ।
कम्पनीले प्रस्ताव गरेको ६ दशमलव ९९ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शुन्य दशमलव ३७ प्रतिशत नगद लाभांशसमेत सभाले पारित गरेको छ ।
हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ३१ करोड २७ लाख ८४ हजार रहेको छ । सोही पूँजीको आधारमा ६ दशमलव ९९ बोनस शेयर वितरण गर्ने निर्णय गरेको कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ४० करोड ४५ लाख ४७ हजार पुगेको छ ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले माघ २७ गते एक दिन बुक क्लोज गरेको छ । यसको आधारमा माघ २६ गतेसम्म कायम शेयरधनीहरू मात्र लाभांश प्राप्त योग्य भएका छन् ।