काठमाडौं । बुधवार नेप्सेमा लामो समयपछि उत्साह देखिएको छ । वैशाख ४ गतेपछि नेप्सेले गति लिन नसकेको अवस्था थियो । वैशाख ४ गतेपछिको कारोबारमा नेप्से चार कारोबार दिन मात्र बढेको देखिन्छ । बढेको चार कारोबार दिनमा पनि नेप्से परिसूचक स्थिर अवस्थामा बृद्धि भएको थियो भने बुधवार एकै दिन नेप्से परिसूचक २ दशमलव ३८ प्रतिशत बढेको हो । अंकका हिसाबमा यो दिन नेप्से परिसूचक ६२ दशमलव २५ अंक माथी उक्लिएको हो । यो दिन २ हजार ६७६ दशमलव २५ विन्दुसम्म पुगेको नेप्से २ हजार ६११ दशमलव ७१ विन्दुसम्म झरेको थियो । अन्तिममा २ हजार ६७३ दशमलव ६९ विन्दुमा नेप्से बन्द भएको हो ।
नेपाल राष्ट्र बैंकमा गभर्नर नियुक्तीको विषय बिहीवार मन्त्रिपरिषदको बैठकले टुङ्ग्याउने खबर वाहिरिएसँगै लगानीकर्ता उत्साहित बनेको ब्रोकरहरुले बताएका छन् । यस अघि गर्भनर नियुक्तीको विषय अन्योल बनिरहँदा लगानीकर्ता पर्ख र हेरको अवस्थामा रहेको ब्रोकरहरुले औल्याएका छन् । बुधवारको कारोबारलाई लिएर गरिएको मैनबत्ति विश्लेषणमा हरियो मैनबत्ति आकृति बनेको छ । यसले भोलीका दिनमा पनि बजार सकारात्मक बन्ने संकेत गर्दछ ।
बुधवार १८ कम्पनीको धितोपत्र मूल्य घटेको छ भने २२७ कम्पनीको धितोपत्र मूल्य बढेको छ । यो दिन एक कम्पनीको मात्र शेयरमूल्य स्थिर रहेको छ । शेयरमूल्य स्थिर रहनेमा ङादी ग्रुुप पावर रहेको छ । यस कम्पनीको शेयरमूल्य मंगलवारको अन्तिम मूल्य ३८९ रुपैयाँनै कायम भएको हो । यो दिन पाँच कम्पनीको शेयरमूल्य उच्च दरमा बढेको छ । नेपाल माइक्रो इन्स्योरेन्स र क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको शेयरमूल्य १० प्रतिशत बढेको हो ने बुटवल पावर कम्पनी र ओम मेगाश्री फर्मास्युटिकल्सको शेयरमूल्य ९ दशमलव ९९ प्रतिशत बढेको हो । यो दिन पिपुल्स हाइड्रोपावरको शेयरमूल्य ९ दशमलव ९८ प्रतिशत बढेको छ । न्यादी हाइड्रोको शेयरमूल्य भने यो दिन सर्वाधिक ४ दशमलव ५० प्रतिशत घटेको छ । प्रतिकित्ता २२ रुपैयाँ ८२ पैसाले घटेर न्यादी हाइड्रोको शेयरमूल्य प्रतिकित्ता ४८४ रुपैयाँ ८५ पैसा कायम भएको हो ।
वैशाख ७ गतेपछि बुधवार १० अर्ब रुपैयाँभन्दा माथीको शेयर कारोबार भएको छ । वैशाख ७ गते १० अर्ब ८७ करोड ५९ लाख रुपैयाँभन्दा बढीको २ करोड ८४ लाख ३८ हजारभन्दा बढी कित्ता धितोपत्र कारोबार भएकोमा वैशाख २४ गते बुधवार १० अर्ब ५१ करोड ८४ लाख रुपैयाँभन्दा बढीको २ करोड ७२ लाख ४५ हजारभन्दा बढी कित्ता धितोपत्र कारोबार भएको हो । अघिल्लो कारोबार दिन मंगलवार भने ८ अर्ब ७४ करोड ७६ लाख रुपैयाँभन्दा बढीको २ करोड ५ लाखभन्दा बढी कित्ता धितोपत्र कारोबार भएको थियो । बुधवार कुल कारोबार रकममा सानिमा माई हाइड्रोपावरले सर्वाधिक हिस्सा ओगटेको छ । यस कम्पनीको ५९ करोड २० लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको हो । सर्वाधिक रकमको शेयर कारोबार भएको कम्पनीको शेयरमूल्य भने प्रतिकित्ता १६ रुपैयाँ ३० पैसाले बढेर अन्तिम मूल्य ६३० रुपैयाँ ५० पैसा कायम भएको छ ।
बुधवार कुल बजार पूँजीकरण १ खर्ब ३ अर्ब ५५ करोड ५७ लाख रुपैयाँले बढेको छ । अघिल्लो कारोबार दिन ४३ खर्ब ४४ अर्ब १ करोड ५६ लाख रुपैयाँ रहेको कुल बजार पूँजीकरण बुधवार ४४ खर्ब ४७ अर्ब ५७ करोड १४ लाख रुपैयाँ कायम भएको हो । यो दिन सबै समूहगत परिसूचक बढेका छन् । वित्त समूहको परिसूचक यो दिन सर्वाधिक ५ दशमलव ४७ प्रतिशत बढेको हो । वित्त पछि जलविद्युतको ३ दशमलव १३ प्रतिशत , बैंकिङको २ दशमलव ९७ प्रतिशत, निर्जीवन बीमाको २ दशमलव ६७ प्रतिशत, जीवन बीमाको २ दशमलव ४४ प्रतिशत, अन्यको २ दशमलव ४३ प्रतिशत, विकास बैंकको २ दशमलव ४० प्रतिशत, लघुवित्तको २ दशमलव २४ प्रतिशत, होटल तथा पर्यटनको १ दशमलव ५९ प्रतिशत, उत्पादन तथा प्रशोधनको १ दशमलव १८ प्रतिशत, लगानीको शून्य दशमलव ८१ प्रतिशत, म्युचुअल फण्डको शून्य दशमलव ५७ प्रतिशत र व्यापारिकको शून्य दशमलव ५३ प्रतिशत परिसूचक बढेको छ ।