काठमाडौं । कुमारी क्यापिटल लिमिटेडले माघ २८ गतेदेखि कुमारी सबल योजनाको इकाई निष्कासन गर्ने भएको छ । योजना व्यवस्थापक क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यमा १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई विक्री गर्न लागेको हो ।
कुल इकाईमध्ये एक प्रतिशत अर्थात् १० लाख इकाई योजना व्यवस्थापक कुमारी क्यापिटललाई छुट्याइएको छ । १४ प्रतिशत अर्थात् १ करोड ४० लाख इकाई कोष प्रवर्द्धक कुमारी बैंकलाई सुरक्षित गरिएको छ । यीबाहेक बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधारणलाई विक्री गर्न लागिएको हो । यो इकाई खरीदका लागि छिटोमा फागुन २ गतेसम्म र ढिलोमा फागुन १३ गतेसम्म आवेदन दिन सकिने व्यवस्था छ ।
यो इकाई न्यूनतम १०० कित्तादेखि अधिकतम १ करोड कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । विक्री खुला भएको निवेदन दिने अवधि तथा बोर्डबाट थप भएको अवधि भित्र कम्तीमा ५० प्रतिशत अर्थात् ५ करोड इकाई खरीद गर्न निवेदन प्राप्त भएमा मात्र यो इकाईको बाँडफाँट गर्न सकिनेछ । यदि न्यूनतम संख्यामा इकाई विक्री नभएमा योजना खारेज गरी १५ दिन भित्र निवेदकको रकम फिर्ता भुक्तानी प्रक्रिया शुरु गर्नुपर्नेछ । योजना व्यवस्थापकसँगै यो इकाई निष्कासन तथा विक्री प्रबन्धकको जिम्मेवारी समेत क्यापिटलले पूरा गर्नेछ ।
१० वर्ष अवधिको उक्त फण्डको इकाई खरीदका लागि लगानीकर्ताहरूले सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका कार्यालयबाट आवेदन दिन सक्नेछन् । साथै मेरो शेयर अनलाइन मार्फत समेत आवेदन दिन सकिने व्यवस्था छ । यो योजना १० वर्षे अवधिको बन्दमुखी प्रकृतिको योजना हो ।