काठमाडौं । पुसको चिसोलाई वास्ता नगरी काठमाडौंको टोखाका बाबुराज डंगोल आफ्ना आफन्तजन, सहयोगी तथा अन्य कामदारका साथ चाकु बनाउन व्यस्त छन् ।
२०५६ सालदेखि चाकु उत्पादन गर्न थालेका बाबुराजलाई नजिकिँदै गरेको माघे संक्रान्तिका लागि चाकु बनाउन भ्याइनभ्याइ भएको हो ।
टोखाका अन्य चाकु उद्योगीको दिनचर्या पनि बाबुराजजस्तै छ । अन्य समयभन्दा माघे संक्रान्तिका लागि चाकु तथा चाकुजन्य वस्तुको माग धेरै हुन्छ ।
बाबुराज चाकु प्रोडक्टमा पनि माग निरन्तर आइरहेको उनले बताए । माघे संक्रान्तिको दिन नेवार समुदायमा घ्यू, चाकु र तिलबाट बनेको लड्डु खाने प्रचलन छ । अहिले यो चलन नेपाली सबैको साझा बन्दै गएको छ।
माघे संक्रान्तिमा चाकुको बढ्दो मागलाई ध्यान दिँदै बाबुराजले चाकु बनाउनका लागि १० जना कर्मचारी राखेका छन् । अन्य समयमा भने परिवारका सदस्यहरू नै चाकु बनाउन खटिने गरेका छन् । माघे संक्रान्तिका बेला यहाँ दैनिक ४००-५०० किलो चाकु उत्पादन भइरहेको कुरा उनले बताए ।
आफूले उत्पादन गरेकाे चाकु, तिलको लड्डु, तिलौरालगायत उत्पादन काठमाडौं, ललितपुरका सपिङ मल तथा उपत्यका बाहिरका अधिकांश जिल्लामा विक्री हुने गरेको उनी बताउँछन् ।
उनले २५० ग्राम र ४०० ग्रामको चाकु उत्पादन गर्ने गरेका छन् । नेवार समुदायले काजकिरियाका बेला पनि चाकु खाने गर्छन् । चिसो लागेका मानिसलाई चाकु खुवाएमा सञ्चो हुने मान्यता छ।
सखरलाई करीब एक घण्टा पकाइसकेपछि भाँडोबाट निकालेर चिस्याउनुपर्छ । चिसो पारेपछि कालो रंगको पाकेको झोललाई फिटेर पहेंलो रंगको बनाइन्छ। फिटेको चाकुलाई चाहिने मात्रामा तौलेर प्लास्टिकमा पोका पारेर बजारमा पठाइन्छ।