काठमाडौं । माई खोला हाइड्रोपावर लिमिटेडले सर्वसाधारणमा विक्री गरेको आईपीओ वैशाख १९ गते मंगलवार बाँडफाँट हुँदै छ ।
विक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडले वैशाख १५ गते शुक्रवारै सर्वसाधारणमा विक्री गरेको आईपीओको प्रि-अलोटमेन्ट सम्पन्न गरिसकेको जानकारी दिएको हो । मंगलवार अन्तिम बाँडफाँटको मिति तय भए पनि समय भने हालसम्म तय भइनसकेको विक्री प्रबन्धकको भनाइ छ ।
कम्पनीले वैशाख ८ गतेदेखि १२ गतेसम्म सर्वसाधारणमा १२ लाख ६९ हजार ४११ कित्ता आईपीओ जारी गरेको थियो । मागभन्दा बढी आवेदन परेकाले गोलाप्रथाको माध्यमबाट १ लाख २६ हजार ९४१ जना आवेदकले १० कित्ताका दरले शेयर हात पार्नेछन् । तीमध्ये एक जना आवेदकले भने बाँकी रहेको एक कित्ता शेयर थप प्राप्त गर्नेछन् ।
कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीमा आईपीओ बाँडफाँट गरिसकेको छ । जारी पूँजी रू. ३९ करोड २१ लाख ५८ हजार ८०० को ४९ प्रतिशत शेयर आयोजना प्रभावित स्थानीयसहित सर्वसाधारणमा विक्री गर्न कम्पनीले अनुमति पाएको थियो ।
आयोजना प्रभावित स्थानीयमा जारी पूँजीको १० प्रतिशतले हुन आउने ३ लाख ९२ हजार १५७ कित्ता र सर्वसाधारणमा जारी हुने ३९ प्रतिशत शेयरमध्ये १० प्रतिशत दरको १ लाख ५२ हजार ९४१ कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीमा बाँडफाँट गरिसकिएको छ । कम्पनीका कर्मचारीमा ३० हजार ५८८ कित्ता र सामूहिक लगानी कोषमा ७६ हजार ४७१ कित्ता शेयर बाँडफाँट गरिसकिएको छ ।
कम्पनीले इलाम जिल्लामा निर्माण गरेको ३ मेगावाट क्षमताको सुपरमाई क्यासकेड जलविद्युत आयोजनाबाट २०७७ असार ३१ गतेदेखि विद्युत् विक्री गर्दै आएको छ । उक्त आयोजनाको कुल लागत ६१ करोड १३ लाख ९२ हजार ६७५ रुपैयाँ रहेको छ भने प्रतिमेगावाट लागत २० करोड ३७ लाख ९७ हजार ५५८ रूपैयाँ छ । पुस मसान्तसम्म कम्पनीले रू. १ करोड २० लाखभन्दा बढी सञ्चित नाफा गरेको छ ।
वास्तविक वित्तीय विवरणअनुसार आर्थिक वर्ष ०७८/७९ सम्म कम्पनीको प्रतिशेयर नेटवर्थ रू. १११ दशमलव ६७ रहेको छ । यही नेटवर्थको आधारमा कम्पनीले दोस्रो बजारमा पहिलो कारोबारका लागि तीन गुणासम्मको मूल्य रेञ्ज पाउनेछ ।