काठमाडौं । माई खोला हाइड्रोपावर लिमिटेड (Mai Khola Hydropower Limited)ले सर्वसाधारणमा विक्री गरेको आईपीओ (IPO) बाँडफाँट गरेको छ । मंगलवार विहान विक्री प्रबन्धक प्रभु क्यापिटलको कार्यालयमा आईपीओको अन्तिम बाँडफाँट भएको हो । कम्पनीले उक्त आईपीओको प्रिअलोटमेन्ट गत शुक्रवार नै सम्पन्न गरेको थियो ।
क्यापिटलका अनुसार कम्पनीको आईपिओ खरीदका लागि कुल १३ लाख ६३ हजार २६६ जनाको आवेदन परेको थियो । कुल आवेदकहरूमध्ये १२ लाख ६७ हजार २८५ जनाको आवेदन मात्र योग्य भएको छ । मागभन्दा बढीको आवेदन परेकोले योग्य आवेदकहरूलाई गोलाप्रथाबाट शेयर बाँडफाँड गरिएको हो । यो बाँडफाँटमा १ लाख २६ हजार ९४१ जना आवेदकले १० कित्ता शेयर प्राप्त गरेका छन् । यीमध्येका एक जना भाग्यमानी आवेदकले थप एक कित्ता गरी ११ कित्ता शेयर प्राप्त गरेका छन् ।
कम्पनीले वैशाख ८ गतेदेखि १२ गतेसम्म सर्वसाधारणमा १२ लाख ६९ हजार ४११ कित्ता आईपीओ जारी गरेको थियो । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीमा आईपीओ बाँडफाँट गरिसकेको छ । जारी पूँजी रू. ३९ करोड २१ लाख ५८ हजार ८०० को ४९ प्रतिशत शेयर आयोजना प्रभावित स्थानीयसहित सर्वसाधारणमा विक्री गर्न कम्पनीले अनुमति पाएको थियो ।
आयोजना प्रभावित स्थानीयमा जारी पूँजीको १० प्रतिशतले हुन आउने ३ लाख ९२ हजार १५७ कित्ता शेयर बाँडफाँट गरिएको हो भने सर्वसाधारणमा जारी हुने ३९ प्रतिशत शेयरमध्ये १० प्रतिशत दरको १ लाख ५२ हजार ९४१ कित्ता शेयर भने वैदेशिक रोजगारीमा रहेका नेपालीमा बाँडफाँट गरिएको हो । कम्पनीको कर्मचारीमा ३० हजार ५८८ कित्ता र सामूहिक लगानीकोषमा ७६ हजार ४७१ कित्ता शेयर बाँडफाँट गरिसकिएको छ ।
यस कम्पनीले इलाम जिल्लामा निर्माण गरेको ३ मेगावाट क्षमताको सुपरमाई क्यासकेड जलविद्युत आयोजनाबाट २०७७ असार ३१ गतेदेखि विद्युत विक्री गर्दै आएको छ । उक्त आयोजनाको कुल लागत ६१ करोड १३ लाख ९२ हजार ६७५ रुपैयाँ छ भने प्रति मेगावाट लागत २० करोड ३७ लाख ९७ हजार ५५८ रुपैयाँ छ । पुस मसान्तसम्म कम्पनीले रू. १ करोड २० लाखभन्दा बढी सञ्चित नाफा गरेको छ । वास्तविक वित्तीय विवरण अनुसार आर्थिक वर्ष ०७८÷७९ सम्म कम्पनीको प्रतिशेयर नेटवर्थ रू. १११ दशमलव ६७ रहेको छ । यही नेटवर्थको आधारमा कम्पनीले दोस्रो बजारमा पहिलो कारोबारका लागि तीन गुणासम्मको मूल्य रेञ्ज पाउनेछ ।