काठमाडौं। नेपाल टेलिकमले कालिकोटको सदरमुकाम मान्मदेखि जुम्ला हुँदै मुगुको सदरमुकाम गमगढीसम्म पहिलोपटक अल डाइलेट्रिक सेल्फ सपोर्टिङ (एडीएसएस) प्रविधिमा आधारित अप्टिकल फाइबर विस्तार गरेको छ । देशका दुर्गम क्षेत्रमा समेत सर्वसुलभ रूपमा दूरसञ्चार सेवा विस्तार एवं स्तरोन्नति गर्ने अभियान एवम् लक्ष्यअन्तर्गत यो सेवा विस्तारबाट कालिकोट, जुम्ला, मुगु लगायतका क्षेत्रमा मोबाइल ब्रोडब्याण्ड र फाइबर सेवाको गुणस्तर तथा क्षमता वृद्धि हुनुका साथै भविष्यमा सञ्चालनमा आउने नयाँ प्रविधिको लागि समेत महत्त्वपूर्ण आधार निर्माण भएको बताइएको छ ।
माइक्रोवेभ रेडियो लिंकमार्फत हाल सञ्चालनमा रहेका राजमार्ग आसपासका कम्पनीका फाइबर इन्टरनेट (एफटीटीएच) तथा मोबाइल सेवासँग सम्बन्धित उपकरणका साथै एनटी टीभी ब्रान्डको टेलिभिजन सेवा समेत गत हप्तादेखि अप्टिकल फाइबरमार्फत सञ्चालनमा ल्याइएको छ । सेवा विस्तारसँगै उक्त क्षेत्रका सेवाग्राहीले हाल सञ्चालनमा रहेका सेवाको गुणस्तर तथा क्षमता अभिवृद्धि भएको प्रत्यक्ष अनुभव गर्ने अपेक्षा गरिएको छ । यसका साथै दुरसञ्चार सेवाको लागि आवश्यक पर्ने ट्रान्समिसन रुटको वैकल्पिक मार्ग समेत स्थापना भई अटुट सेवा प्रवाहको प्रत्याभूति हुने कम्पनीको भनाइ छ ।