मार्जिन कारोबार गर्न धितोपत्र बोर्डले २०७४ कात्तिकमै निर्देशन जारी गरेको थियो । निर्देशनअनुसार नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले ‘मार्जिन कारोबार सुविधासम्बन्धी कार्यविधि २०७५’ बनाई लागू गरेको निकै समय भए पनि मार्जिन कारोबार शुरू हुन सकेको छैन । शेयरबजारमा दीर्घकालीन लगानीकर्ता र कारोबारी दुवैको सक्रियता आवश्यक हुन्छ र मार्जिन कारोबारले कारोबारीलाई सहज रूपमा रकम उपलब्ध गराएर बजारलाई चलायमान बनाउन मद्दत गर्छ । तर, मार्जिन कारोबार नहुँदा शेयर लगानीकर्ताले बैंकहरूमा शेयर धितो राखी मार्जिन प्रकृतिको ऋण लिएर शेयरमा लगानी गर्नु परेको छ जसले गर्दा बजारको तीव्र उतारचढावको फाइदा लगानीकर्ताले लिन सकेका छैनन् ।
लगानीकर्ताले आफूसँग भएको भन्दा केही बढी रकम (मार्जिन) ब्रोकरबाट लिई शेयरबजारमा लगानी गर्ने प्रणाली मार्जिन कारोबार हो । यस्तो सुविधा दिएबापत लगानीकर्ताले ब्याज तथा अन्य शुल्क ब्रोकरलाई तिर्नुपर्छ । राष्ट्र बैंकले गत आर्थिक वर्ष ३४ ओटा स्टक ब्रोकरलाई मार्जिन कारोबारका लागि स्वीकृति प्रदान गरे पनि तीमध्ये २७ ब्रोकरले मात्रै मार्जिन कारोबारका लागि अनुमतिपत्र प्राप्त गरेका छन् । नासा सेक्युरिटिजले केही समय मार्जिन कारोबारको सुविधा दिए पनि स्रोतकै अभावमा सेवा बन्द गरेको बताएको छ ।
नेपालमा शेयरको दोस्रो बजारको कारोबारका लागि खुलेका दलाल कम्पनीहरूको चुक्ता पूँजी निकै कम रहेको छ । त्यस्तै तिनीहरूको संरचना पनि सानो आकारको नै छ । मार्जिन कारोबार सुविधा दिनका लागि ब्रोकरहरूसँग स्रोत प्रशस्त हुनुपर्छ । केही करोडको लगानीमा खुलेका कम्पनीले यसको हिसाबकिताब राख्न, मार्जिनका लागि रकम उपलब्ध गराउन निकै कठिन हुन्छ । धितोपत्रको दोस्रो बजार नेप्सेमा एकै दिन ३० अर्ब रुपैयाँभन्दा बढीको कारोबार भएको थियो । यो ब्रोकरबाट मार्जिन सुविधा नलिई भएको कारोबार हो । मार्जिन कारोबारको सुविधा पाए दैनिक कारोबार थप बढ्न सक्छ । बजारको माग पूरा गर्न ब्रोकरहरूसँग स्रोत हुनुपर्छ । यसका लागि बैंक, वित्तीय संस्थाबाट सस्तोमा थोक कर्जा ब्रोकरले पाउने र ब्रोकरले मार्जिन कारोबार सुविधा लगानीकर्तालाई दिने गरी स्रोतको व्यवस्थापन गर्न सकिन्छ । तर, योभन्दा दलाल कम्पनी आफै यसका लागि सक्षम हुनुपर्छ ।
धितोपत्र दलाल कम्पनीले विभिन्न कारोबार गरी प्रशस्त आम्दानी गर्छन् । तर, नेपालमा शेयर खरीदविक्रीका लागि माध्यम बन्नुबाहेक उनीहरू अन्य क्षेत्रमा लगानी गर्न सकिरहेका छैनन् । लगानी गर्न नसक्नुको कारण उनीहरूसँग वित्तीय स्रोतको कमी हुनु एउटा महत्त्वपूर्ण कारण हो । पछिल्लो समय नियामक निकाय नेपाल धितोपत्र बोर्डले दलाल कम्पनीलाई अनुमति पत्र दिँदा तिनको चुक्ता पूँजी हेरेर फरकफरक काम गर्न सक्ने गरी अनुमति दिने व्यवस्था गरेको छ । यस्तोमा कि त ठूला लगानीका ब्रोकर कम्पनी आउनुपर्यो अथवा ब्रोकर कम्पनीहरूबीच मर्जर गराउनु पर्यो । यस्ता कम्पनीबाट मार्जिन कारोबार गराउन सकियो भने शेयरबजारले बढी गति लिन सक्छ । अहिले भइरहेको कारोबारको आकार निकै बढ्न सक्छ ।
अहिले बैंकहरूसँग लगानी योग्य रकम फालाफाल छ । कर्जाको माग छैन । यस्तोमा बैंकहरूले ब्रोकरहरूलाई थोक कर्जा दिन पाउने हो भने स्रोतको जोहो भएर मार्जिन कारोबार सुचारू हुन पनि सक्छ । तर, यसका लागि हाल नेपाल राष्ट्र बैंक त्यस्तो ब्यवस्था तत्काल गर्न चाहेको छैन । यस्तो कर्जा उठेन भने के गर्ने भन्ने चिन्ता उसको रहेको देखिन्छ । तर, यसका लागि केही निश्चित मापदण्ड बनाउन नसकिने होइन । अर्को, केही बैंकहरूले सहायक कम्पनीमार्फत शेयर कारोबार शुरू गरेका छन् । तिनले मार्जिन कारोबार शुरू गरे अन्य ब्रोकर कम्पनीमाथि पनि दबाब पर्छ र तिनले मर्जरमा गएर वा कम्पनीको लगानीको आकार बढाएर यस्तो सुविधा दिन बाध्य हुन सक्छन् ।