काठमाडौं । सर्वोच्च अदालतले माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको प्रवर्द्धक भारतीय कम्पनी ग्रान्धी माल्लिकार्जुन राव (जीएमआर) लाई वित्तीय व्यवस्थापन गर्न दुई वर्ष म्याद थप गर्ने मन्त्रिपरिषद्को निर्णय तत्कालका लागि कार्यान्वयन नगर्न आदेश दिएको छ ।
सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलाशले जीएमआरको म्याद दुई वर्ष थप गर्ने मन्त्रिपरिषद्को गत असार ३१ गतेको निर्णय कार्यान्वयन नगर्न बिहीवार अन्तरिम आदेश दिएको हो ।
मन्त्रिपरिषद्ले जीएमआरलाई माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको लागि वित्तीय स्रोत जुटाउन थप समय दिने निर्णय गरेको थियो । तीन वर्षपहिले नै म्याद समाप्त भइसकेको र बीचको म्याद थप नभएको अवस्था छँदाछँदै मन्त्रिपरिषद्बाट पुन: दुई वर्ष म्याद थप्ने निर्णय भएको देखिएको आदेशमा उल्लेख छ ।
‘साविकमा म्याद थप गर्ने निर्णय लगानी बोर्डबाट गर्ने गरिएकामा अहिले किन मन्त्रिपरिषद्बाट निर्णय गर्नुपरेको हो भन्ने पक्ष विचारणीय रहेको’ सर्वोच्चको आदेशमा भनिएको छ । ‘विसं २०७१ मा भएको दुई वर्ष अवधिको सम्झौताको म्याद १० वर्षपछिसम्म पुग्ने गरी थप गर्नुको कुनै औचित्य देखिँदैन । तसर्थ सुविधा सन्तुलन तथा अपूरणीय रूपमा पर्न जाने क्षति समेतलाई दृष्टिगत गरी निवेदकको मागबमोजिम अन्तरिम आदेश जारी गर्नु मनासिव देखिएकाले रिट निवेदन अन्तिम किनारा नलागेसम्म माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापनको म्याद थप गर्ने निर्णय कार्यान्वयन नगर्नू/नगराउनू, यथास्थितिमा राख्नू,’ अन्तरिम आदेशमा भनिएको छ ।
विवादको छिटोछरितो रूपमा किनारा गर्न आवश्यक देखिएको हुँदा सर्वोच्च अदालतको नियमावली, २०७४ बमोजिम अधिकार प्रदान गरिएको आदेशमा उल्लेख छ । लगानी बोर्ड र जीएमआरबीच २०७१ असोज ३ गते दुई वर्ष अवधि राखेर परियोजना विकास सम्झौता भएको थियो । सम्झौताबमोजिम काम नभएपछि २०७३ पुस २४ गते एक वर्ष म्याद थप भएको थियो । बोर्डले २०७४ कात्तिक २४ गते पुन: वित्तीय व्यवस्थापनका लागि अर्को एक वर्ष म्याद थप गरेको थियो ।
त्यसपछि सम्झौताको निरन्तरता कायम राख्ने सम्बन्धमा कुनै काम भएको वा सम्झौता कायम राख्ने प्रक्रिया अपनाइएको थिएन । सम्झौता गर्ने, म्याद थप गर्ने कार्य बोर्डले नै गर्दै आएको थियो । पछिल्लोपटक राष्ट्रिय योजना आयोगका तत्कालीन उपाध्यक्ष विश्वनाथ पौडेलको संयोजकत्वका एक कार्यदल बनाई सोही कार्यदलको सिफारिशका आधारमा सरकारले म्याद थप गरेको थियो ।
माथिल्लो कर्णालीमा जीएमआरसँगको सम्झौता थप गर्ने कि नगर्ने भन्नेमा सुझाव दिन लगानी बोर्डले पौडेलको संयोजकत्वमा कार्यदल गठन गरेको हो । उक्त कार्यदलले उत्पादित बिजुली बेच्न पावर सेल्स एग्रिमेन्ट (पीएसए)का लागि ६ महीना र वित्तीय व्यवस्थापनका लागि १८ महीना समय दिन बोर्डलाई सिफारिश गरेको थियो । उक्त प्रस्तावबमोजिम मन्त्रिपरिषद्ले म्याद थप्ने निर्णय गरेको हो ।
कुल ९ सय मेगावाट क्षमताको सो आयोजनाबाट उत्पादित बिजुलीमध्ये ५ सय मेगावाट बंगलादेश निर्यात गर्ने भनिए पनि हालसम्म कुनै सम्झौता हुन सकेको छैन । जल तथा ऊर्जा क्षेत्रमा पैरवी गर्दै आएका रतन भण्डारीले जीएमआरको म्याद थप गैरकानूनी रहेको माग दाबी गर्दै सर्वोच्चमा रिट निवेदन दिएका थिए ।
सरकारले २०७१ सालमै माथिल्लो कर्णाली निर्माणको जिम्मा जीएमआरलाई दिएको थियो ।