काठमाडौं। २८५ मेगावाटको माथिल्लो तमोर अर्धजलाशययुक्त जलविद्युत् परियोजनाका लागि लगानी जुटेको छ । यो परियोजनामा एभरेष्ट बैंकको नेतृत्वमा अन्य बैंक तथा वित्तीय संस्थाले ३८ अर्ब ६० करोड रुपैयाँ ऋण लगानी गर्ने भएका छन् । काठमाडौंमा एक कार्यक्रम गर्दै बिहीवार परियोजनाको प्रवद्र्धक कम्पनी तमोर इनर्जी प्रालि र एभरेष्ट बैंकले ऋण लगानीसम्बन्धी सम्झौता गरेका छन् । सम्झौतापत्रमा कम्पनीका अध्यक्ष पुष्पज्योति ढुंगाना र एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुदेश खालिङले हस्ताक्षर गरेका छन् ।
एभरेष्ट बैंकको नेतृत्वमा कृषि विकास बैंक र जलविद्युत् लगानी तथा विकास कम्पनी (एचआईडीसीएल) साथै, राष्ट्रिय वाणिज्य, प्रभु, लक्ष्मी सन्राइज, नेपाल एसबीआई र गरिमा विकास बैंकले समूह सदस्यका रूपमा ऋण लगानी गर्नेछन् ।
स्वदेशी निजीक्षेत्रको लगानीको हालसम्मकै ठूलो यस आयोजनाले २०८५ जेठमा काम सम्पन्न गर्ने लक्ष्य लिएको छ । यस आयोजनाबाट ६ घण्टा साँझको समय (पिक आवर) मा पनि पूर्ण क्षमतामा विद्युत् दिने लक्ष्य छ । ब्याजसहित ५५ अर्ब रुपैयाँ लागतमा निर्माण हुन लागेको आयोजनामा ३० प्रतिशत स्वपूँजी र ७० प्रतिशत ऋण लगानी रहनेछ ।
कम्पनी अध्यक्ष ढुंगानाले स्वदेशी निजीक्षेत्रबाट बन्दै गरेको हालसम्मको सबैभन्दा ठूलो जलविद्युत् आयोजनाका रूपमा रहेको तमोर निर्माणपश्चात् नेपालको ऊर्जा क्षेत्रमा एउटा महत्त्वपूर्ण उपलब्धि प्राप्त हुने विश्वास व्यक्त गरे । उनका अनुसार वित्तीय व्यवस्थापन सबैभन्दा ठूलो चुनौती रहेकाले यसको व्यवस्थापन नभई जलविद्युत् आयोजनाहरू अघि बढ्न सक्दैनन् । नेपाली लगानीमा बन्दै गरेको यस आयोजनाले वित्तीय व्यवस्थापन गरेसँगै आयोजना बन्ने निश्चित भएको उनले बताए । कार्यक्रममा बोल्दै एभरेष्ट बैंकका सीईओ खालिङले यो सम्झौताले स्वदेशी बैंकहरू पनि ठूला जलविद्युत् परियोजनामा लगानी गर्न सक्षम रहेको पुष्टि भएको बताए । यो सम्झौताले अन्य ठूला आयोजनामा लगानी गर्न अन्य बैंकहरूलाई हौसला प्रदान गर्ने उनले बताए ।
एभरेष्ट बैंकको नेतृत्वमा कृषि विकास बैंक र एचआईडीसीएल साथै, राष्ट्रिय वाणिज्य, प्रभु, लक्ष्मी सन्राइज, नेपाल एसबीआई र गरिमा विकास बैंकले समूह सदस्यका रूपमा ऋण लगानी गर्नेछन् ।
‘हामी ऊर्जाक्षेत्रमा लगानी गर्न तयार छौं । आन्तरिक स्रोतका साथै अन्य वैकल्पिक स्रोतबाट समेत लगानी जुटाउन पहल थालिनुपर्छ,’ उनले भने ।
विदेशबाट समेत यस्ता आयोजनामा लगानी जुटाउन सके नेपालको ऊर्जा क्षेत्रले चाँडै फड्को मार्न सक्ने विश्वास खालिङले व्यक्त गरे । आयोजनाबाट वार्षिक १ अर्ब ४७ करोड ९८ लाख युनिट विद्युत् उत्पादन हुनेछ । वर्षामा १ अर्ब ३ करोड ३६ लाख युनिट र सुक्खायाममा ४४ करोड ६२ लाख १६ हजार युनिट बिजुली उत्पादन हुनेछ । परियोजनाको प्रारिम्भक निर्माण यसअघि नै शुरू भइसकेको छ । यो परियोजनाको निर्माण २०८५ जेठमा सम्पन्न गर्ने लक्ष्य छ ।