अर्थतन्त्रमा मूल्य (आन्तरिक) र शोधनान्तर (बाह्य) स्थिरता कायम गर्नु नेपाल राष्ट्र बैंकको पहिलो कानूनी कर्तव्य हो । यी उद्देश्यमा कुनै प्रतिकूल प्रभाव नपर्ने गरी बैंकले नेपाल सरकारको आर्थिक नीति कार्यान्वयनमा सहयोग पुर्याउने उल्लेख छ । अहिले अर्थतन्त्रका यी दुवै क्षेत्रमा अस्थिरता व्याप्त छ । आर्थिक वर्ष (आव) २०७८/७९ को मौद्रिक नीतिमा रू. १ अर्बको शोधनान्तर बचत तथा कम्तीमा ७ महीनाको वस्तु तथा सेवा आयात धान्ने स्तरमा विदेशी विनिमय सञ्चिति कायम रहने गरी मौद्रिक र बाह्य क्षेत्रको व्यवस्थापन गर्ने लक्ष्य रहेकोमा आव २०७८/७९ को साउनदेखि जेठसम्म हरेक महीना शोधनान्तर घाटामा रहेको तथा २०७८ मङ्सिरदेखि २०७९ जेठसम्म सञ्चितिको वस्तु तथा सेवा आयात धान्ने स्तर ७ महीनाको लक्ष्यभन्दा लगातार तल रहेको अवस्था छ । आवमा मौद्रिक नीतिको चौमासिक समीक्षा हुँदा पनि यस्तो असन्तुलित परिसूचकलाई सबल बनाउनेतर्फ कुनै सारगर्भित नीतिगत कदमहरू नचालिएको कुरा वर्षैभरि देशको शोधनान्तर घाटा निरन्तर बढ्दै गएको तथा विदेशी विनिमय सञ्चितिको स्तर लगातार खस्किँदै गएको स्थितिबाट स्पष्ट हुन्छ । २०७८ फागुनदेखि २०७९ जेठसम्म मुद्रास्फीति मौद्रिक नीतिले अनुमान गरेको ६ दशमलव ५ प्रतिशतभन्दा बढी रही मूल्यमा समेत अस्थिरता सृजना भएको छ
शोधनान्तरलाई अनुकूल बनाउने तथा लक्षित मूल्य स्थायित्व कायम गर्ने दिशातर्फ निर्देशित मौद्रिक नीति निर्माण गरी सुदृढ कार्यान्वयनमार्फत अर्थतन्त्रलाई थप असन्तुलित हुन र बिग्रिनबाट बचाउनुपर्छ ।
असन्तुलित परिसूचक
मासिक रूपमा शोधनान्तर स्थितिलाई केलाउँदा आव २०७८/७९ को पहिलो महीनामा शोधनान्तर घाटा रू. –३८.८ अर्ब, दोस्रो महीनासम्म रू. –८३.४ अर्ब, तेस्रो महीनासम्म रू. –७६.१ अर्ब, चौथो महीनासम्म रू. –१५०.४ अर्ब, पाँचौं महीनासम्म रू. –१९५.० अर्ब, छैटौं महीनासम्म रू. –२४१.२ अर्ब, सातौं महीनासम्म रू. –२४७.० अर्ब, आठौं महीनासम्म रू. –२५८.६ अर्ब, नवौं महीनासम्म रू. –२२४.६ अर्ब, दशौं महीनासम्म रू. –२८८.५ अर्ब र एघारौं महीनासम्म रू. –२६९.८ रहेको छ । देशको विदेशी विनिमय सञ्चितिको आयात धान्ने क्षमतातर्फ २०७७ साउन मसान्तमा १५.६ महीना बराबरको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेकोमा अत्यधिक आयात वृद्धिका कारण २०७७ भदौमा १४.९ महीना, असोजमा १४.१ महीना, कात्तिकमा १४.० महीना, मङ्सिरमा १३.० महीना, पुसमा १२.६ महीना, माघमा ११.९ महीना, फागुनमा ११.३, चैतमा १०.८ महीना, २०७८ वैशाखमा १०.३ महीना, जेठमा १०.१ महीना, असारमा १०.२ महीना, साउनमा ८.३ महीना, भदौमा ७.८ महीना, असोजमा ७.८ महीना, कात्तिकमा ७.२ महीना, मङ्सिरमा ६.८ महीना, पुसमा ६.६ महीना, माघमा ६.७ महीना, फागुनमा ६.७ महीना, चैतमा ६.६ महीना, २०७९ वैशाखमा ६.६ महीना र जेठमा ६.७ महीनामा सीमित हुन पुगेको छ । यसरी, विगत २२ महीनाको अवधिमा विदेशी विनिमय सञ्चितिको आयात धान्न सक्ने क्षमता प्रतिमहीना औसतमा ४ दशमलव शून्य प्रतिशतले घट्न गएको छ । यसरी, बाह्य क्षेत्रमा गहन असन्तुलनको अवस्था विद्यमान रहे तापनि त्यसको समाधान तर्फका विश्वसनीय प्रयासहरू दृष्टिगोचर हुन सकेका छैनन् ।
आव २०७८/७९ को मौद्रिक नीतिमा मुद्रास्फीति ६ दशमलव ५ प्रतिशतमा सीमित राखिने उल्लेख थियो । नेपाल राष्ट्र बैंकको भारित औसत तथ्यांकको आधारमा २०७९ जेठमा मूल्य वृद्धि ८ दशमलव ६ प्रतिशतको उच्च दरले बढेको छ जबकी गतवर्षको सोही अवधिमा यस्तो वृद्धि ४ दशमलव २ प्रतिशत थियो । आव २०७८/७९ को फागुनदेखि जेठसम्म वार्षिक विन्दुगत आधारमा मुद्रास्फीति लगातार ६ दशमलव ५ प्रतिशतभन्दा माथि रहँदा पनि मूल्यवृद्धि नियन्त्रणतर्फ मौद्रिक नीतिको प्रयास नदेखिनु कानूनी उत्तरदायित्वको उपहास भएको छ । साथै, महँगी नियन्त्रण गरी जनताको जनजीविका र जीवनस्तरमा प्रतिकूल प्रभाव पर्न नदिन लागिपर्नुपर्ने सरकारी क्षेत्रको भूमिका दिन पर दिन लापरवाह र गैरजिम्मेवार बन्दै गएको छ ।
बैंकहरूको निक्षेप परिचालनको तुलनामा कर्जा प्रवाह आव २०७७/७८ को ११ महीनामा ७२ दशमलव १ प्रतिशतले बढी थियो भने यो आवको सोही अवधिमा १८४.३ प्रतिशतले बढी छ, जसको फलस्वरूप निक्षेप र कर्जावृद्धि बीचको असन्तुलन अझै बढ्न गएको छ । कर्जाको प्रमुख स्रोत निक्षेप हो भन्ने बैंकहरूले नबुझ्दा बढी मुनाफा आर्जनका लागि बैंकहरूले नीतिगत दरहरूको हेरफेरमा दबाब दिई अर्थतन्त्रको स्थायित्व बिग्रिने गरी कारोबार गर्न उद्यत रहेका छन् । यसरी अर्थतन्त्रमा तरलता/वित्तीय संकट निम्त्याउन बैंकहरू उद्यत रहने प्रवृत्तिमा नियन्त्रण हुनु जरुरी छ । कर्जा बढाउन निक्षेप परिचालनमा जोड दिन बैंकहरूलाई बाध्य गराइनु आवश्यक छ ।
समष्टिगत नीतिहरू घोषणा गर्दा अर्थतन्त्रमा विकसित भइरहेका आन्तरिक तथा बाह्य क्षेत्रसम्बन्धी घटनाक्रमहरू तथा त्यसको मौद्रिक, बजेट, विदेशी विनिमय सार्वजनिक ऋण व्यवस्थापनका पक्षहरूसँगको अन्तरसम्बन्ध उपयुक्त ढंगले आकलन र विवेचना गर्न तथा सोहीअनुसार आवश्यक उपाय सही समयमा कार्यान्वयन गर्न नसक्दा अर्थतन्त्रमा अनेक विकृति, विसंगति एवम् विकृतिहरू सृजना हुने तथा थप घनीभूत हुँदै जाने हुन्छन् । मौद्रिक र बजेट व्यवस्थापन सुदृढ हुन नसक्दा आर्थिक वृद्धि र रोजगारी प्रवर्द्धन मात्र प्रभावित हुने नभई मूल्य स्थिरता, ब्याजदर स्थिरता र शोधनान्तर स्थिरता कायम गर्नसमेत कठिनाइ हुन्छ । यथासमयमा सही नीतिगत हस्तक्षेप भएन र अवस्थालाई अझ बिग्रिन दिइयो भने देशमा वित्तीय वा आर्थिक संकट पनि निम्तिन सक्छ, जसको कारण र प्रभावका रूपमा तथा यस्तो संकटजन्य परिस्थितिको सम्बोधनका लागि अर्थतन्त्रले ठूलो मूल्य चुकाउनुपर्ने हुन्छ ।
निजी व्यवसाय चलाउनु र सबैको साझा धरोहरका रूपमा रहेको देशको समग्र अर्थतन्त्र चलाउनु नितान्त फरक कुरा हुन् । संसारको आर्थिक इतिहासमा आजसम्म जति पनि वित्तीय र आर्थिक संकट देखापरेका छन् ती सबैको कारण तरलता समस्या रहेकाले तरलता व्यवस्थापनलाई निरन्तर रूपमा उच्च प्राथमिकता दिई सुदृढ व्यवस्थापनद्वारा वित्तीय/आर्थिक संकट सृजना हुन नदिनु समग्र अर्थतन्त्र व्यवस्थापनको पहिलो पाठ हो । तर, समष्टिगत आर्थिक–वित्तीय परिसूचक र प्रवृत्ति विश्लेषणको नतिजाअनुसार उपचारका उपयुक्त कदम समयमै अगाडि नबढाइनुले नीति कार्यान्वनमा उदासीन बस्ने प्रवृत्ति हाबी भएको देखिन्छ । देशको मौद्रिक नीति सस्तो लोकप्रियताका लागि यताउता भड्किने र राजनीतिज्ञको इसाराको प्रतीक्षा गर्ने भन्दा ऐन अनुसारका आफ्ना उत्तरदायित्व पूरा गर्नेतर्फ लाग्नु जनता र अर्थतन्त्रको दिगो हितको लागि श्रेयस्कर हुनेछ ।
निष्कर्ष
गत आव २०७७/७८ को प्रथम १० महीनासम्म अर्थात् २०७८ वैशाखसम्म रू. ७७.५ अर्बको शोधनान्तर बचत रहेकोमा ११ औं महीना अर्थात् २०७८ जेठमा मात्रै रू. ९२.७ अर्बको शोधनान्तर घाटा भई ११ महीनासम्म कुल शोधनान्तर घाटा रू. १५.२ अर्ब पुगेको थियो । त्यसपछिका हरेक महीना शोधनान्तर घाटा भई आव २०७८/७९ को ११ महीनामा रू. २६९.८ अर्बको घाटा पुग्यो । सोहीअनुसार विदेशी विनिमय सञ्चिति २०७८ असारमसान्तको रू. १,३९९.० अर्ब बाट २०७९ जेठमसान्तमा रू. १,१७६.८ अर्बमा ओर्ली यस ११ महीनाको अवधिमा रू. २२२.२ अर्ब वा १५ दशमलव २ प्रतिशतले घट्न गई सञ्चितिको वस्तु तथा सेवाको आयात धान्न सक्ने क्षमता २०७८ असारमसान्तको १०.२ महीना बराबरबाट २०७९ जेठमसान्तमा ६.७ महीनाबराबरमा सीमित रहनु बाह्य क्षेत्र स्थायित्वका लागि चिन्ताको विषय रहेकाले शोधनान्तरलाई अनुकूल दिशातर्फ लग्न तत्काल हरसम्भव प्रयत्न गर्नुपर्ने राष्ट्रिय दायित्व रहेको छ । मौद्रिक नीतिमा निर्धारण भएको ६ दशमलव ५ प्रतिशतको मुद्रास्फीतिलाई वास्तविक मुद्रास्फीतिले लगातार ४ महीनासम्म उछिन्दा पनि मौद्रिक नीतिको प्राथमिकतामा मूल्य स्थायित्व कायम गर्ने विषय नपर्नु अर्थतन्त्रको आन्तरिक र बाह्य स्थायित्व प्रति ध्यान नदिएको स्पष्ट देखिन्छ । त्यसैले, शोधनान्तरलाई अनुकूल बनाउने तथा लक्षित मूल्य स्थायित्व कायम गर्ने दिशातर्फ निर्देशित मौद्रिक नीति निर्माण गरी सुदृढ कार्यान्वयनमार्फत अर्थतन्त्रलाई थप असन्तुलित र बिग्रिनुबाट बचाउनु आजको अपरिहार्य आवश्यकता रहेको छ ।
लेखक नेपाल राष्ट्र बैंक, आर्थिक अनुसन्धान विभागका पूर्वकार्यकारी निर्देशक तथा अर्थ मन्त्रालयका पूर्ववरिष्ठ आर्थिक सल्लाहकार हुन् ।