काठमाडौं । मध्य भोटेकोशी जलविद्युत् कम्पनी लिमिटेड चालू आवको पहिलो त्रैमाससम्म रू. १ करोड ८५ लाखभन्दा बढी खुद नोक्सानीमा रहेको छ ।
गत वर्षको पहिलो त्रैमाससम्मको तुलनामा कम्पनीको खुद नोक्सानी १५५ प्रतिशत बढी भएको हो । गत वर्ष यस अवधिसम्म कम्पनी रू. ७२ लाख ६९ हजार खुद नोक्सानीमा रहेको थियो ।
कम्पनीले सिन्धुपाल्चोक जिल्लामा १०२ मेगावाट क्षमताको मध्य भोटेकोशी जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । विद्युत् विक्री आम्दानी नगरेको यस कम्पनीको आयोजना व्यवस्थापन खर्च बढ्दा खुद नोक्सानी बढेको हो ।
गत वर्ष रू. ७५ लाखभन्दा बढी रहेको व्यवस्थापकीय खर्च यस वर्ष रू. १ करोड ८३ लाखभन्दा बढी रहेको छ । हाल कम्पनीको चुक्तापूँजी रू. ६ अर्ब रहेको छ । खुद नोक्सानीमा रहेको कम्पनीको रिटेन्ड अर्निग रू. ३६ करोड ५३ लाख ऋणात्मक रहेको छ ।
कम्पनीको दिर्घकालिन दायित्व रकम गत वर्षभन्दा करीब २५ प्रतिशत बढी रहेको छ । गत वर्ष रू. ६ अर्ब ४१ करोड २१ लाखभन्दा बढी रहेको दिर्घकालिन दायित्व रकम यस वर्ष रू. ८ अर्ब १ करोडभन्दा बढी पुगेको छ ।