सिन्धुपाल्चोक । गत असारमा आएको बाढीपहिरोले मेलम्ची खानेपानी आयोजनाको बाँधक्षेत्रमा थुपारेको ढुंगामाटो पन्छाएर मंगलवार उपत्यकातर्फ पानी पठाइएको छ । खानेपानीमन्त्री उमाकान्त चौधरीले सुरुङमा पानी पथान्तरण गरेका हुन् । सिन्धुपाल्चोकको अम्बाथानमा रहेको आयोजनाको मुख्यद्वार १ नम्बरको डाइभर्सन गेटबाट पानी पथान्तरण गरिएको हो । मन्त्री चौधरीले सरकारी लक्ष्यअनुसारै पानी उपत्यका पठाउन पाएको भन्दै खुशी व्यक्त गरे । सुरुङमा हालेको पानी उपत्यका पुग्न दुई हप्ता लाग्ने बताइएको छ ।
सुरुङ र हेडवर्क्स सफा गर्ने काम सकिएकाले पानी पथान्तरण गरिएको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक वासुदेव पौडेलले बताए । ‘केही काम अझै बाँकी भए पनि सुरुङ र हेडवर्क्स सफा गर्ने काम सकिएकाले पानी पठाइएको हो,’ उनले भने । सरकारले यसअघि चैत मसान्तभित्र मेलम्ची पानी काठमाडौं पठाउने घोषणा गरेको थियो ।
अहिलेसम्म पानी पथान्तरणको औपचारिक शुरुआत र विभिन्न चरणका उद्घाटन जोड्ने हो भने यो मेलम्ची खानेपानी आयोजनाको सातौं औपचारिक उद्घाटन हो । २१ असार २०७७ मा पहिलोपटक मेलम्चीको पानी पथान्तरण भएको थियो । आयोजनाको बाँधस्थलमा सिन्धुपाल्चोकका तत्कालीन प्रमुख जिल्ला अधिकारीसहितको उपस्थितिमा औपचारिक कार्यक्रम र तत्कालीन खानेपानीमन्त्री बिना मगरले काठमाडौंमा पत्रकार सम्मेलन गरेर यसको शुभारम्भ गरेकी थिइन् ।
एक हप्तामै मेलम्चीको अडिट सुरुङको गेट भत्किएर दुर्घटना भएपछि मर्मत गर्न करीब ८ महीना लाग्यो । दोस्रोपटक १० फागुन २०७७ मा तत्कालीन खानेपानीमन्त्री मणिचन्द्र थापा र शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले मेलम्चीको मुहानमै पुगेर सुरुङमा पुनः पानी पठाए । तेस्रोपटक २२ फागुन २०७७ मा सुन्दरीजल पुगेको पानीलाई तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गेट खोलेर बाग्मती नदीमा पठाउँदै काठमाडौंमा मेलम्चीको पानी आइपुगेको घोषणा गरेका थिए ।
चौथोपटक १५ चैत २०७७ मा काठमाडौंको महाँकालमा रहेको पानीपोखरीमा औपचारिक कार्यक्रम गर्दै काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)ले मेलम्ची पानी वितरण शुरू गरेको थियो । त्यसको एक हप्तापछि २३ चैत २०७७ मा काठमाडौंको भृकुटीमण्डपमा राष्ट्रपति विद्यादेवी भण्डारीले मेलम्ची आयोजनाको पानी वितरण शुरू गरेकी थिइन् । यो पाँचौंपटकको उद्घाटन थियो । तर, हेडवर्क्सको निर्माण नसकिँदै गत असार १ गतेको बाढीपहिरोले आयोजनाको मुहान क्षेत्र तहसनहस पारेको थियो ।
सातौंपटक मंगलवार उद्घाटन भएको मेलम्ची आयोजनाको काम भने अझै पनि सकिएको छैन । निर्माणाधीन अवस्थामै पुरिएको पानी फिल्टर गर्ने संयन्त्र काम लाग्ने अवस्थामा छन्/छैनन् टुंगो छैन ।