काठमाडौं। महालक्ष्मी विकास बैंक लिमिटेडले स्वास्थ्य, होटल तथा रेष्टुराँ क्षेत्रका संस्थासँग समन्वय गरी अगाडि बढ्न विभिन्न स्थानमा अवस्थित संस्थाहरूसँग सम्झौता गरेको छ । सम्झौतापश्चात् बैंकका डेबिट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोगकर्ताले उक्त संस्थाका विभिन्न सेवामा छूट प्राप्त गर्न सक्ने बताइएको छ ।
बैंकका ग्राहकले स्काइवाक टावर (वन्डर्स नेपाल प्रालि) कमलादी काठमाडौंसँग स्काइवाक टावर प्रवेश शुल्कमा १५ प्रतिशत र काठमाडौंको विशालनगरस्थित चेरिस ग्रुप प्रालिका खाना तथा पेय शुल्कमा १५ प्रतिशत छूट पाउने भएका छन् । त्यस्तै ललितपुरको सानेपास्थित अमैचामा कपडा खरीद गर्दा १० प्रतिशत र ललितपुरको भैंसेपाटीस्थित मलाला युनिसेक्स सैलुन प्रालिको ब्युटिसियन सेवामा १० प्रतिशत छूट मिल्ने बताइएको छ ।
यस किसिमको सहकार्यबाट बैंकका डेबिट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहक प्रत्यक्ष रूपमा लाभान्वित हुने विश्वास बैंकको छ । साथै डिजिटल युगसँग नेपाली जनतालाई साक्षात्कार गराउने उद्देश्यले बैंकले विभिन्न शाखाबाट वित्तीय जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको बताइएको छ । बैंकले हालै ग्राहकलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ सुविधा उपलब्ध गराउने बैंकको नीति बमोजिम मोबाइल एप्लिकेसनलाई परिष्कृत गर्दै ‘महालक्ष्मी स्मार्ट साथी’ सञ्चालनमा ल्याएको छ ।