विभिन्न विदेशी ब्रान्डका चिसो पेय पदार्थले बजार कब्जा गरिरहेका बेला नेपालकै मौलिक उत्पादन महीले स्वदेशी ब्रान्डकै पेयका रूपमा बजार तताउन थालेको छ । पछिल्लो समय युवापुस्तामाझ कोक, फेन्टा, पेप्सी जस्ता पेय पदार्थभन्दा मही पिउने प्रवृत्ति बढ्दै गएपछि डेरीहरूले यसलाई ब्रान्डिङ गरेर बोतलबन्द गरी विक्री गर्न थालेका छन् जसले राम्रो बजार लिइरहेको छ । यसले एकातिर जनस्वास्थ्यमा सकारात्मक परिवर्तन ल्याउने देखिन्छ भने अर्कातिर आन्तरिक अर्थतन्त्रलाई समेत सबल बनाउन सहयोग गर्ने देखिन्छ । डेरी उद्योगहरूले दूध र दुग्धजन्य पदार्थको विक्री नभएको गुनासो गरिरहँदा गर्मी याममा यसको विक्री बढेकाले डेरी उद्योगलाई केही भए पनि राहत मिल्ने देखिन्छ ।
सामान्यतया मही घरमै तयार पारिन्छ । त्यसो हुँदा यो व्यावसायिक बनेको थिएन । वनभोज र सानातिना जमघटमा महीको प्रयोग बढ्दै जाँदा यसले डेरीहरूलाई मही विक्री गर्न प्रोत्साहित गरेको देखिन्छ । यही आकर्षण बढेपछि ब्रान्डिङ नै गरेर यसको विक्री गर्न थालिएको छ । मही धेरै दिनसम्म राख्न नमिल्ने भएकाले यसको व्यापक बजारीकरण हुन सकेको छैन । यसमा अनुसन्धान गरेर लामो समयसम्म नबिग्रने गरी भण्डारण गर्न सक्ने अवस्था आएमा यो निकै लोकप्रिय बन्ने सम्भावना छ । गर्मीमा अन्य पेयभन्दा यो पेय बढी स्वादिलो र हितकारी पनि हुने देखिन्छ । अन्य पेयमा चिनीको मात्रा बढी हुने, रंगको प्रयोेग हुने तथा त्यसलाई बिग्रनबाट जोगाउन प्रयोग गरिएको केमिकलले गर्दा स्वास्थ्यप्रति सचेत उपभोक्ता यसको विकल्पको खोजीमा छन् । अहिले मही एउटा विकल्प देखिएको छ ।
अहिले थुप्रै ब्रान्डमा महीको विक्री भइरहेको छ र उत्पादकहरूले सोचेभन्दा राम्रो बजार पाइरहेको छ । कपिलवस्तुमा रहेको ग्लोबल डेरी उद्योगले बुद्धभूमि ब्रान्डमा दैनिक १ हजार लिटर मही विक्री गरिरहेको छ । चितवनमा गंगानगर, पवन, र अन्नपूर्णलगायत डेरीले मही उत्पादन गरी बजारमा पठाएका छन् । बजारमा पाइने अन्य पेयभन्दा मही केही सस्तो पनि हुन्छ । मही विक्री बढ्दा स्थानीय उत्पादनले बजार पाउँछ र स्थानीय अर्थतन्त्रलाई बलियो पनि बनाउँछ । अहिले नेपाल डेरी एशोसिएशनले संस्थागत रूपमा नै मही प्रवर्द्धनको काम गरिरहेको छ । यो निकै सकारात्मक छ ।
महीको सेवन स्वास्थ्यका लागि निकै लाभदायी मानिन्छ । पोषणविज्ञहरूले मही रसायनरहित प्राकृतिक पेय पदार्थ भएकाले यो स्वास्थ्यका लागि राम्रो भएको बताएका छन् । मही पिउँदा गर्मी छल्नुका साथै स्वास्थ्यका लागि विभिन्न पौष्टिक तत्त्व प्राप्त हुन्छ । यसमा कुनै केमिकल मिसाइएको हुँदैन । खाना खाएपछि पानीको सट्टा मही पिउन सकिन्छ । महीले पाचन प्रणाली राम्रो बनाउँछ । महीमा क्याल्सियम, माइक्रो प्रोटिनलगायत पोषण तत्त्व हुन्छ । मही पिउनाले हड्डीको विकासमा सहायता गर्ने विज्ञहरूको भनाइ छ । महीमा पर्याप्त मात्रामा प्रोटिन र एमिनो एसिड हुन्छ । महीमा १ प्रतिशत फ्याट ५ प्रतिशत एसएनएफ राखेर उत्पादन गरिन्छ । यसमा क्याल्सियम बढी हुन्छ ।
महीको प्रयोग बढाउन यसलाई सामाजिक भेटघाटका कार्यक्रममा यसलाई प्राथमिकता दिनुपर्छ । महिलाई विभिन्न स्वाद र बोतलमा विक्री गर्न सकिन्छ । जिरा, नून हालिएको, नहालिएको लगायत विभिन्न फ्लेबरमा यसको उत्पादन गर्न आवश्यक हुन्छ । उमेरअनुसार फरकफरक स्वाद मन पराउने भएकाले त्यसअनुसार उत्पादनमा विविधीकरण गर्न सकिन्छ । एकै स्वादमा मात्रै उत्पादन बजारमा लैजाँदा खास वर्गका केही समूहले मात्रै यसलाई मन पराउँछन् जसले गर्दा बजारमा ठूलो प्रभाव पर्दैन । अझै पनि गाउँघरमा मही खाएर हुर्किएका पुस्ता छन् । तिनले त यसलाई मन पराउँछन् नै । तर, जो विदेशी पेयमा रमाउँछन् तिनलाई पनि आकर्षित गर्नेगरी महीमा विभिन्न स्वाद, फ्लेबर र प्रकार दिन सकिन्छ । त्यस्तै विज्ञापनबाट बजारीकरण गर्नेतर्फ पनि चुक्नु हुँदैन । त्यसतर्फ डेरीको ध्यान जानु आवश्यक छ ।
अर्को, महीको गुणस्तर मापनको पनि हो । धेरै जना मही खान डराउने कारण कस्तो पानी प्रयोग गरिएको छ भनेर हो । त्यसैले महिलाई प्रयोगशालाबाट परीक्षण गराई प्रमाणीकरण गरिनुपर्छ । त्यसको गुणस्तर र प्रयोगविधि, डेट एक्स्पायर हुने अवधि आदि बारे खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, नेपाल गुणस्तर तथा नापतौल विभाग आदिले गुणस्तर प्रमाणपत्र दिनुपर्छ । त्यसो भएमा यो विश्वसनीय हुन्छ र सचेत उपभोक्ताले निर्धक्कसँग मही उपभोग गर्छन् । अहिले जतिले यो उपभोग गरेका छन्, केही आशंकासहित उपभोग गरिरहेका छन् । त्यसैले यसलाई व्यापक बजारीकरण गर्ने हो र साँच्चिकै आधुनिक पेयलाई विस्थापित गर्ने हो भने यी पक्षमा ध्यान जानु आवश्यक छ ।