काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले मिथिला लघुवित्त वित्तीय संस्था र महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य समायोजन गरेको छ ।
नेप्सेले दुवै कम्पनीको बोनस शेयर प्रयोजनका लागि मूल्य समायोजन गरेको हो । दुवै कम्पनीले साधारण सभा प्रयोजनको लागि फागुन ५ गते बुक क्लोज गरेकाले फागुन ४ गतेसम्म कायम अन्तिम शेयर मूल्यका आधारमा नेप्सेले मूल्य समायोजन गरेको हो ।
मिथिला लघुवित्तको बिहीवार कायम अन्तिम शेयर मूल्य रू १ हजार ६० को आधारमा प्रस्तावित १५ प्रतिशत बोनस शेयरपछिको मूल्य नेप्सेले रू. ९२१ दशमलव ७४ तोकेको छ ।
त्यस्तै महिला लघुवित्तको बिहीवार कायम अन्तिम शेयर मूल्य रू. ४ हजार ७९ को आधारमा नेप्सेले कम्पनीले प्रस्ताव गरेको ४७ दशमलव ५० प्रतिशत बोनस शेयरपछिको मूल्य रू. २ हजार ७६५ दशमलव ४२ तोकेको छ । फागुन ४ गतेसम्म कायम दुवै कम्पनीका शेयरधनीहरू लाभांश प्राप्त गर्न योग्य भएका छन् ।
मिथिला लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ७८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
प्रस्ताव पारितका लागि कम्पनीले फागुन १७ गते साधारण सभा बोलाएको छ । सभा न्यू बौवा होटल एण्ड गेष्टहाउसको सभाहल मिथिला नगरपालिका-१० लालगढ, धनुषामा बिहान ११ बजे शुरू हुने कम्पनीले जानकारी दिएको छ ।
त्यस्तै महिला लघुवित्त वित्तीय संस्थाले गत आवको मुनाफाबाट शेयरधनीलाई ४७ दशमलव ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि २ दशलमव ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
प्रस्ताव पारितका लागि कम्पनीले फागुन २१ गते साधारण सभा बोलाएको छ । सभा आगन्तुक रिसोर्ट भ्युटार मार्ग धुलिखेल काभ्रेमा बिहान ११ बजे शुरू हुने कम्पनीले जानकारी दिएको छ ।