काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले चैत १६ गते पाँचौं वार्षिक साधारण सभा बोलाएको छ ।
फागुन १४ गते बसेको कम्पनीको सञ्चालक समिति बैठकले होटल पौवा, रूपन्देहीमा सभा गर्ने निर्णय गरेको हो । कम्पनीले नेप्सेमार्फत सार्वजनिक वार्षिक सूचनामा साधारण सभा हुने समय भने उल्लेख गरेको छैन ।
सभाले गत आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदनसहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिकसमेत निर्धारण गर्नेछ ।
साथै कम्पनीको सञ्चालक समितिको बैठकले गरेको लाभांश प्रस्तावलाई सभाले अन्तिम स्वीकृति प्रदान गर्नेछ । कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट हाल कायम चुक्तापूँजी रू. १४ करोड १७ लाखभन्दा माथिको आधारमा कुल ५ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ ।
माघ १६ गतेको कम्पनीको सञ्चालक समिति बैठकले ४ दशमलव ७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव २५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको थियो । गत वर्ष १७ प्रतिशत बोनस शेयर वितरण गरेको कम्पनीले यस वर्ष कम लाभांश वितरण गर्न लागेको हो ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले चैत १ गतेदेखि साधारण सभा हुने दिनसम्म बुक क्लोज गर्ने भएको छ । यस आधारमा फागुन ३० गतेसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।