काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले आगामी चैत १६ गते पाँचौ वार्षिक साधारण सभा गर्ने भएको छ । सभा रूपन्देहीको सिद्धार्थनगर-६ स्थित होटल पौवामा उक्त दिन दिउँसो १ बजे शुरु हुने कम्पनीले जानकारी दिएको छ।
सभाले ४ दशमलव ७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव २५ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । त्यस्तै सभाले अन्य लघुवित्त वित्तीय संस्थासँग गाभ्न/गाभिन वा प्राप्ति गर्ने सम्बन्धमा गर्नुपर्ने कार्यहरूका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
सभाले गत आवको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र चालू आवको लेखापरीक्षण गर्नका लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
साधारण सभा प्रयोजनको लागि कम्पनीले चैत १ गते बुक क्लोज गर्ने जानकारी दिएको छ । यस बुक क्लोजको आधारमा फागुन ३० गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउने छन् ।