काठमाडौं । ५ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज रहेको छ । माउन्टेन इनर्जी नेपाल, कुथेली बुखरी स्मल हाइड्रोपावर, मञ्जुश्री फाइनान्स, आरएसडिसी लघुवित्त र मिथिला लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ यी कम्पनीहरूले पुस ११ गते बुक क्लोज गर्दैछन् । यस आधारमा पुस १० गते क्रिसमसको सार्वजनिक बिदा भएका कारण नेप्सेमा आजसम्म कारोबार भइ कायम शेयरधनीहरू सम्बन्धित कम्पनीहरूको साधारण सभामा सहभागिता जनाउन तथा सम्बन्धित कम्पनीहरूले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन ।
मञ्जुश्री फाइनान्स लिमिटेडले यही पुस २८ गते काठमाडौंको थापागाउँस्थित थापागाउँ ब्याङ्क्वेटमा १७ औं वार्षिक साधारण सभा बोलाएको छ । सो सभा बिहान ११ बजे शुरु हुनेछ ।
सभाले हाल कायम चुक्तापूँजीको ६ दशमलव ३५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने, अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँगै मर्जर अथवा एक्विजिशनको कार्य गर्न र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने, सञ्चालक समितिमा संस्थापक शेयरधनीहरूको तर्फबाट १ जना र सर्वसाधारण शेयरधनीहरूको तर्फबाट १ जना सञ्चालकको निर्वाचन गर्ने लगायतका प्रस्तावहरू पारित गर्नेछ ।
त्यस्तै, आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले यही पुस २९ गते रुपन्देहीको बुटवलस्थित वेष्टर्न एशियन होटल प्रा. लि.मा एघारौं वार्षिक साधारण सभा बोलाएको छ । सो सभा बिहान साढे ९ बजे शुरु हुनेछ ।
सभाले हाल कायम चुक्तापूँजीको ९ दशमलव ५० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ शून्य दशमलव ५० प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।
यसका साथै सभाले प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने, मर्जर तथा एक्विजिशनसम्बन्धी कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, संस्थापक शेयरधनीहरूको तर्फबाट ३ जना र सर्वसाधारण शेयरधनीहरूको तर्फबाट ३ जना सञ्चालकको निर्वाचन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरू परित गर्नेछ ।
मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले यही पुस २८ गते धनुषाको मिथिला नगरपालिका ६, ढल्केबरस्थित कोमल होटल प्रा.लि.को सभाहलमा १६ औं वार्षिक साधारण सभा बोलाएको छ । सो सभा बिहान ११ बजे शुरु हुनेछ ।
सभाले हाल कायम चुक्ता पूँजीको १४ दशमलव २५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थसहित शून्य दशमलव ७५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । यसका साथै सभाले मर्जर तथा एक्विजिशनसम्बन्धी कार्य गर्न र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, संस्थापक समूहबाट १ जना र सर्वसाधारण समूहबाट १ जना सञ्चालक नियुक्त गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरू पनि पारित गर्नेछ ।
त्यस्तै माउन्टेन इनर्जी नेपाल लिमिटेडले यही पुस २८ गते काठमाडौंको भाटभटेनीस्थित अम्रपाली ब्याङ्क्वेट केटरिङ्ग एण्ड इभेन्ट्समा एघारौं वार्षिक साधारण सभा बोलाएको छ । सो सभा बिहान १० बजे शुरु हुनेछ ।
सभाले हाल कायम चुक्तापूँजीको १५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ शून्य दशमलव ७८९५ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । यसका साथै सभाले बोनस शेयर वितरणपश्चात कायम चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद शेयर जारी गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, सञ्चालक समितिको निर्वाचन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरू पारित गर्नेछ ।
कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडले यही पुस २७ गते नयाँ बानेश्वरस्थित काठमाडौं प्रा.लि.मा १३ औं वार्षिक साधारण सभा बोलाएको छ । सो सभा बिहान साढे १० बजे शुरु हुनेछ ।
सभाले हाल कायम चुक्तापूँजीको १० प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ शून्य दशलमव ५२६३ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। यसका साथै सभाले कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने, संस्थापक समूहका ५ जना सञ्चालकहरूको निर्वाचन गर्ने, सञ्चालक समितिबाट नियुक्त स्वतन्त्र सञ्चालकलाई अनुमोदन गर्ने लगायतका प्रस्तावहरू पनि पारित गर्नेछ ।