काठमाडौं । मोलुङ्ग हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओ शुक्रवार विहान बाँडफाँट भएको छ। शुक्रवार विहान विक्री प्रबन्धक सनराइज क्यापिटलको कार्यालय कमलपोखरी, काठमाडौमा आईपीओ बाँडफाँट भएको हो।
मागभन्दा बढी आवेदन परेपछि गोलाप्रथा प्रणालीबाट शेयर बाँडफाँट गरिएको छ। जसअनुसार २ लाख २६ हजार ४६५ जनाले १० कित्ताका दरले शेयर प्राप्त गरेका छन्। जसमा पाँच जना भाग्यमानीले भने थप एक कित्ता अर्थात् कुल ११ कित्ताका दरले कम्पनीको शेयर प्राप्त गरेका छन्।
कम्पनीले फागुन ४ गतेदेखि १० गतेसम्म सर्वसाधारणका लागि २२ लाख ६४ हजार ६५५ कित्ता शेयर निष्कासन गरेको थियो। विक्री प्रबन्धकका अनुसार कम्पनीको आईपीओमा कुल १४ लाख २४ हजार ३५१ जनाले कुल १ करोड ५५ लाख ७९ हजार ८०० कित्ताका लागि आवेदन दिएका थिए। जसमध्ये १४ लाख १७ हजार ३४६ आवेदन स्वीकृत भएको छ भने ७ हजार ५ ओटा आवेदन रद्द भएको छ।