बेइजिङ (चीन) । मेरुदण्डमा घाउबाट उत्पन्न भएको पक्षघातको उपचार असम्भव मानिन्थ्यो । अर्बपति एलन मस्कको न्युरालिंकले पनि बिरामीको पक्षघात भएको अंगलाई बचाउन सम्भव नभएको बताउँदै आएको छ ।
तर, शाङ्हाइको फुदान विश्वविद्यालयले गरेको एक क्लिनिकल परीक्षणमा चार जना पक्षघात भएका बिरामीहरू शल्यक्रियाको २४ घण्टाभित्र अंग चलाउन सफल भएका छन् । र, केही हप्तामै आफै हिँड्न सक्ने भएका छन् ।
चिनियाँ टोलीको प्रगति मस्तिष्क र मेरुदण्डमा इलेक्ट्रोड चिप्सलाई प्रत्यारोपण गरेर सम्भव भएको हो ।
यो केवल अमेरिकाको न्यूरोटेक्नोलोजीको प्रभुत्वलाई चुनौती दिने कुरा होइन । यसले पक्षघातका बिरामीको उपचार सम्भव गराएको हो । चीनमा मात्रै ३.७४ मिलियन स्पाइनल चोटग्रस्त बिरामीहरू छन् ।
चिनियाँ परियोजनाका प्रमुख वैज्ञानिक जिया फुमिन फुदान ब्रेन–लाइक इंटेलिजेन्स साइन्स एण्ड टेक्नोलोजी रिसर्च इन्स्टिच्युटका उप अनुसन्धानकर्ता र क्लिनिकल अनुसन्धानका प्रमुख अन्वेषक हुन् ।
मार्च ३ मा जियाका टोलीले शाङ्हाइको फुदान विश्वविद्यालयमा एक पत्रकार सम्मेलनमा आफ्नो अनुसन्धानको नतिजा सार्वजनिक गरेका हुन् ।
चार घण्टाको शल्यक्रियामा प्रत्येक बिरामीको मोटर कोर्टेक्समा लगभग १ मिमी ब्यासको दुई इलेक्ट्रोड चिप्स प्रत्यारोपण गरिएको थियो । त्यसको केही घण्टामा चारैजना बिरामीहरूले आफ्नो खुट्टा हल्लाउन सकेका थिए । शल्यक्रियाको एक वा दुई महीनापछि बिरामीहरूले हिँड्न थालेका छन् ।
तीमध्ये एक ३४ वर्षीय पुरुष थिए, जसलाई दुई वर्षपहिले तीन मिटर (१० फिट)को उचाइबाट लडेर पक्षघात भएको थियो । गत जनवरी ८ मा उनको शल्यक्रिया गरिएको थियो । शल्यक्रियापछि २४ घण्टामा उनले दुवै खुट्टा उठाउन सकेका थिए । शल्यक्रियाको १४ औं दिनमा उनले पाँच मिटरभन्दा बढी हिँड्न सकेका थिए ।
अन्य तीन बिरामीहरूको शल्यक्रिया क्रमशः ५ फेब्रुअरी, २५ फेब्रुअरी र ३ मार्चमा भएको थियो । उनीहरू सबै हिँड्न सफल भएका छन् । एजेन्सी