भक्तपुर । जिल्लाको मध्यपुर थिमी नगरपालिका-८ बोडेस्थित ऐतिहासिक पलिस्वाँ पुखुः अर्थात् कमल पोखरी अहिले आन्तरिक पर्यटनको केन्द्र भएको छ । कमलपोखरीमा अहिले लटरम्म फुलेका कमलहरु हेर्न , रमाउन, फोटो भिडियो खिच्न आउनेको ताँती नै लागेको छ । यहाँका स्थानीयहरु बिहान, बेलुकी मर्निङ वाक’ र ‘इभिनिङ वाक’का लागि स-परिवार यो पोखरी आसपासमा जाने गर्दछ्न ।
कमलपोखरी बोडेका स्थानीय मात्रै होइन अन्यत्रबाट आएका र यस क्षेत्रमा बसोबास गर्दै आएकाहरुका लागि अहिले घुमफिर गर्नेहरुका लागि एउटा आर्कषक गन्तव्य को रुपमा विकास भएको छ । 'वरिपरि लामोलामो झाडी, बीचमा दबदबे हिलो, त्यसमाथि घाँसैघाँस, डिलमा जथाभावी फालिएको फोहोर,' तीन वर्ष अघिसम्म त्यही दृश्य देखिने यो ठाउँमा अचेल कमलको फूल फक्रेको देखिन्छ।
व्यक्तिका नाममा दर्ता भई पटकपटक किनबेच भएको ऐतिहासिक यो पोखरीलाइ स्थानीय सरकारले फिर्ता ल्याएपछि आफ्नै स्वरूप पाए पछि स्थानीय पनि खुसी छन् । आफ्नै टोलको यस पोखरीमा झण्डै ५० वर्षपछि कमलको फूल फुलेको देख्दा मनै फुरुङ्ग भएको पोखरी अवलोकन गर्न आएका स्थानीयले बताए । १५ रोपनी नौ आना जग्गा ओगटेको यो पोखरी भूमाफियाको चङ्गुलबाट जोगाउन मध्यपुरथिमिका बासिन्दाहरुको नै प्रमुख भूमिका खेलेका थिए ।
यो पोखरीमा फुलेको कमलको फूल लायकू दरबारमा दशैंमा तलेजुलाई चढाउने प्रचलन छ । कमलको पातमा तलेजुको पुजारीले भोज खानु पर्ने, साउनमा हुने नीलबाराही नाचमा यहीँको फूल चढाएर जात्रा चलाउने र जिब्रो छड्ने जात्रा चलाउने गरिन्छ । नगरपालिकाले यसै वर्षदेखि परम्परालाई निरन्तरता दिएपछि संस्कृति र परम्पराको जगेर्ना हुनाका साथै विगतमा छुटेका सबै धार्मिक परम्परा अब सञ्चालन गर्न सकिने भएको छ ।
पोखरी नजिकै नगरपालिकाले पुनःनिर्माण गरेको कुमारी मन्दिर र कुमारी पार्कले यहाँ आन्तरिक पर्यटनको मुख्य गन्तव्य बन्न पुगेको छ। जसरी बोडेको कमलपोखरीमा नाम जस्तै कमल फुल्न थालेको छ, काठमाडौंको कमलपोखरीमा पनि कमल फुलाउन सकिन्छ कि ? स्थानीय सरकारको ध्यान जानु जरूरी छ ।