चितवन । नारायणगढको चमेली बिगबजारमा देखि तेस्रो चितवन जुत्ताचप्पल महामेला २०८१ शुक्रबारबाट शुरु भएको छ । नेपाली जुत्ता घर तथा नेपाल फुटवेयर म्यानुफ्याक्चर एसोसिएसन अफ नेपाल द्धारा आयोजित उक्त महामेलाको उद्धाटन बाग्मती प्रदेश वन तथा वातावरण मन्त्री केशब पोख्रेलले गरे । स्वदेशी जुत्ताका उत्पादन एकै ठाउँमा बिक्री गर्ने उद्धेश्यसहित मेलाको आयोजना गरिएको हो ।
उद्घाटनपछि बोल्दै मन्त्री पोख्रेलले स्वदेशी उत्पादनको प्रर्वद्धन गर्न आयोजना गरिने यो मेलाले आर्थिक गतिविधि चलायमान हुने बताए । ‘यस्ता मेलाले एकत स्वदेशी उत्पादनको प्रर्वद्धन हुन्छ अर्कोकुरा आयात प्रतिस्थापन र रोजगारीमा समेत बृद्धि गर्छ ।’पोख्रेलले भने ।
उद्योगीहरूले स्वदेशी उत्पादन गुणस्तरीय बनाउनुपर्नेमा जोड दिदैं उनले व्यवसायी बीच स्वस्थ प्रतिस्पर्धा हुनुपर्ने बताए । पछिल्लो समय स्वदेशी जुत्ता चप्पलको माग विदेशमा समेत बढेको बताउँदै उनले उद्योगीहरूले उत्पादनमा बृद्धि गर्दै लैजानुपर्ने बताए । ‘बार्षिक नेपाली जुत्ता चप्पल निर्यात १ अर्बको हुने गरेको छ , उनले भने, अब हरेक नेपालीले पनि आफ्नो उत्पादनलाई माया गर्नुपर्यो ।’
सो अवसरमा फुटवेयर म्यानुफ्याक्चर एशोसियसन नेपालका केन्द्रिय अध्यक्ष रुद्र न्यौपानेले नेपाली उद्योगीका सबै उत्पादन एकैठाउँमा प्रर्दशन र बिक्री गर्ने उद्धेश्यसहित मेलाको आयोजना गरिएको बताए ।
‘स्वदेशी जुत्ता चप्पलका उत्पादन , डिजाइन एउटै छाना मुनि प्रयोग गर्न पाउन भन्ने हाम्रो मुख्य उद्धेश्य हो, उनले भने, यसले नेपाली जुत्ताचप्पलको प्रर्वद्धन र बजारीकरणमा सहयोग पुग्छ ।’ नयाँ बर्षको अवसर पारेर छुट अफर उपलब्ध गरेको बताउँदै उनले यो अवसरलाई सदुपयोग गर्न सबैलाई आग्रह गरे ।
नेपाली जुत्ता चप्पल घरका अध्यक्ष होमनाथ न्यौपानेले स्वदेशी उत्पादनको पहुँच पुर्याउन नेपालका प्रमुख शहरमा नेपाली उत्पादनका आउटलेट विस्तार गर्दै लगिएको बताए । ‘नेपाली उत्पादन शहर केन्द्रित नभई ग्रामीण भेग लक्षित गर्नु हाम्रो जिम्मेबारी पनि हो । यसलाई सर्वसुलभ बनाउन हामी प्रयत्नरत छौं ।’ न्यौपानेले भने ।
कार्यक्रममा भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारी, नेपाल होटल व्यवसायी महासंघ, उद्योग वाणिज्य संघ चितनका उपाध्यक्ष नारायण प्रधान लगायतले स्वदेशी उत्पादनलाई प्राथमिकता दिनुपर्ने जोड दिएका थिए ।
मेलाको अवसरमा लेडिज र जेन्स दुबैका लागि आवश्यक सबै प्रकारका जुत्ताचप्पल खरिदमा १५ देखि ५० प्रतिशतसम्म छुट पाइनुका साथै १५ सय भन्दा बढीको जुत्ता खरिदमा उपहार स्वरुप चप्पल सित्तैमा दिइने र यो अफर मेला अवधिसम्म मात्र रहने आयोजकले जनाएको छ ।
नारायणगढको चमेली बिग बजारमा आजबाट शुरु भएको मेलामा ७ ओटा स्वदेशी उद्योगबाट उत्पादित तीन हजारभन्दा बढी प्रकारका जुत्ता चप्पल पाइनेछ । मेला बैशाख ३० गतेसम्म चल्नेछ ।