अशेष मल्ल
निर्देशक
सर्वनाम थिएटर
अशेष मल्ल, आधुनिक नेपाली रङ्गकर्मीले गौरवस्वरूप उनलाई अग्रज कलाकारका रूपमा सम्बोधन गर्छन् । २०१२ सालमा धनकुटामा जन्मिएका मल्ल विगत तीन दशकभन्दा लामो समय रङ्गकर्ममा सक्रिय छन् । २०३८ सालमा ‘सर्वनाम’ समूह स्थापना गरेका मल्ल नेपालमा सडक नाटकलाई लोकप्रिय बनाउने तथा नाटकमार्फत राजनीतिक निरङ्कुशताका विरुद्ध प्रहार गर्ने नाट्यकर्मीका रूपमा पनि चर्चित छन् । नेपाली नाटकको पछिल्लो अवस्था, यसको व्यावसायिक स्थिति र नेपाली नाटकको अन्तरराष्ट्रिय स्तरलगायतका विषयमा केन्द्रित भई अभियान दैनिकका संवाददाता अच्युत पुरीले गरेको कुराकानीको सारसङ्क्षेप :
रङ्गमञ्चको वर्तमान अवस्थालाई कसरी मूल्याङ्कन गर्नुहुन्छ ?
पछिल्लो १ दशक नेपाली रङ्गमञ्चका लागि निकै फलदायी रह्यो । विशेषगरी देशमा लोकतन्त्र बहाली भएपछि प्राप्त अभिव्यक्तिको स्वतन्त्रतासँगै रङ्गमञ्च फस्टाउन थालेको हो । यस अवधिमा कला, साहित्य र रङ्गमञ्चको विकास नपत्याउँदो प्रकारबाट बढेको छ । मानिसहरूलाई पुस्तक पढ्ने बानी लागेको छ । अन्य देशमा श्रव्यदृश्य सञ्चारमाध्यमका सामग्री आइसकेपछि छापामाध्यमको आकर्षण केही घटेको पाइन्छ । तर, नेपालमा यसको ठीक विपरीत छ । झण्डै ४५ वर्षे रङ्गमञ्चको यात्राका क्रममा अहिलेको जस्तो सुखद क्षण अनुभूति गर्ने मौका मैले पाएको थिइनँ ।
यो अवधिमा नेपाली रङ्गमञ्च फस्टाउनुको कारण के होला ?
रङ्गमञ्च फस्टाउनमा पहिलो योगदान स्वतन्त्रताकै रह्यो । राजनीतिक रूपमा प्राप्त स्वतन्त्रासँगै जनताको सचेतना पनि ह्वात्तै बढेर गयो । अहिले नेपालको इतिहासमै युवावर्ग सबैभन्दा सचेत अवस्थामा छ । ऊ कामप्रति उत्साहित छ । यिनै युवाका काँधमा आज रङ्गमञ्च पनि पुगिसक्यो । उनीहरूले बडो परिपक्वताका साथ यो जिम्मेवारी पूरा गरिरहेका छन् । उनीहरू सिकाइका भोका छन् । नाटक हेर्न र नाटक खेल्न लालायित छन् । उनीहरूले कला र संस्कृति देशको सम्पदा भएको तथ्यलाई बुझिसकेका छन् ।
भनेपछि अब नाटक खेलेर आर्थिक रूपमा सक्षम हुने अवस्था आइपुगेको हो ?
विडम्बना भन्नुपर्छ, त्यो अवस्था भने आइपुगेको छैन । विश्वभरकै नाट्यकर्मी केवल नाटक खेलेरमात्र बाँच्न नसकिरहेको अवस्थामा नेपालमा तत्काल त्यस्तै होला भन्ने अपेक्षा गर्न सकिदैन । तर, विदेशमा रङ्गकर्मीहरूलाई राज्यले सहयोग गर्छ । उनीहरूले उचित वातावरण वातावरण पाउँछन् । तर, हाम्रोमा त्यो अवस्था छैन । पछिल्लो समय रङ्गमञ्च आर्थिक रूपमा केही सबल बन्दै गएको साँचो हो । तर, यसमा राज्यको भूमिका छैन । दर्शकको साथ र कलाकारको मेहनतबाट यो सबै भइराखेको छ । हाम्रोमा रङ्गमञ्चलाई लामो समयसम्म बचाइराख्ने हो भने रङ्गकर्मीले बेलैमा वैकल्पिक आर्थिक स्रोतको जोहो गर्नैपर्छ ।
यसको अर्थ रङ्गमञ्चलाई राज्यले आर्थिक सहयोग गर्नुपर्यो ?
रङ्गमञ्चले देशको कला र संस्कृति जगेर्नाका लागि गरेको प्रयासमा कसैबाट सहयोग प्राप्त होस् भन्ने स्वार्थ लुकेको छैन । हाम्रो कामको सम्मानस्वरूप राज्य वा अन्य निकायले सहयोग गर्छन् भने त्यो राम्रै हुन्छ, किनकी रङ्गकर्ममा लाग्ने हरेक कलाकारलाई यसमा लाग्दा अभाव र दुःख छ भन्ने कुरा स्पष्टसँग थाहा छ । त्यसैले उनीहरू अभावका बीच पनि काम गर्न सक्छन् । तपार्इं कसैबाट सहयोगको अपेक्षा गर्नुहुन्छ भने उसको दास बन्न पनि तयार हुनुपर्छ । कम्तीमा कलाक्षेत्र यस प्रकारको दासताबाट मुक्त छ । तर, संस्कृति रक्षामा केन्द्रित हाम्रा सम्पदा तथा जनशक्तिलाई सहयोग गर्नुपर्छ भन्ने चेतनाको विकास नभएसम्म आर्थिक समस्याको समाधान निस्किँदैन । राज्यको दायित्व वातावरण बनाइदिने हो । रङ्गकर्मका लागि स्थानलगायत धेरै कुराको अभाव छ । यसमा विचार पुर्याउनुपर्छ ।
तपार्इंले नाट्यकर्म प्रारम्भ गर्दाको अवस्था र आज के कुरामा परिवर्तन पाउनुभएको छ ?
हामीले नाटक खेल्दै गर्दा यो पेशा बढी जोखीमपूर्ण थियो । एकातर्फ अभिव्यक्ति स्वतन्त्रता थिएन भने अर्कोतर्फ धेरै घेराबन्दीका बीच काम गर्नुपथ्र्यो । कतिपय अवस्थामा राजनीतिक नाटक देखाउने कलाकर्मीलाई त ज्यान जोगाउनै गाह्रो थियो । तर, अहिले सहज वातावरण छ । पहिला शिक्षा तथा सञ्चारको राम्रो विकास भइसकेको थिएन । शिक्षित मानिस कम थिए । समाजलाई रङ्गकर्मको महŒव बुझाउन सकिएको थिएन । आज शिक्षित मानिसले पनि नाट्यकर्मतर्फ चासो राख्न थालेका छन् । संसार निकै साँघुरो भइसकेको छ । आज विश्वभर नाट्यक्षेत्रका गतिविधि एकअर्का मुलुकका रङ्गकर्मीबीच तत्काल आदानप्रदान हुन थालेको छ । पहिला यी कुरा असम्भव थिए । विभिन्न मुलुकका कलाकर्मीले अनुभव साटासाटको राम्रो मौका प्राप्त गर्न थालेपछि नाटकको स्तर पनि ह्वात्तै बढेको छ ।
आज नाट्यकर्ममा के–कस्ता चुनौती थपिएका छन् ?
मानिसको चेतना वृद्धिसँगै चुनौती पनि थपिएका छन् । पहिला जुन सामग्री देखाए पनि दर्शकबाट प्रश्नचिह्न उठ्दैनथ्यो । तर, आज दर्शकले शब्दशब्दमा प्रश्न उठाउँछन् । त्यसैले अब रङ्गकर्ममा पनि अध्ययन आवश्यक भइसक्यो । नाट्यकर्ममा पनि कडा प्रतिस्पर्धा छ । गुणस्तरीय प्रस्तुति दिन नसके दर्शकको मन पनि जित्न सकिन्न । यो कुरा अध्ययनविना सम्भव छैन । यो नाट्यकर्मीका लागि चूनौती हो । रङ्गमञ्चको ज्ञान लेखक तथा कलाकार दुवैका लागि आवश्यक छ ।
तपार्इंले सडक नाटकलाई चर्चामा ल्याउनुभयो । सडक पनि नाटक देखाउने थलो बन्न सक्छ भन्ने चेतना कसरी आयो ?
व्यावसायिक नाट्यकर्म थालेको ३ दशकभन्दा बढी समयपछि मैले बल्ल आफ्नो थिएटर भवन बनाउन सकेँ । संसारको हरेक रङ्गकर्मीले सबैभन्दा पहिला आफ्नो प्रस्तुति देखाउने स्थान खोजेको हुन्छ । सडकलाई पनि नाटक प्रदर्शन गर्ने थलोका रूपमा स्थापित गराउने म रहरले सडकमा पुगेको थिइनँ । स्थान अभाव भएपछि मैले जनतासम्म पुग्ने माध्यम सडकलाई बनाए । यसको अर्थ रङ्गमञ्चको विकासका लागि मञ्च उपलब्ध हुनु पहिलो शर्त हो । लामो धैर्यपछि मैले आफ्नो सपना पूरा गर्न सकेँ । तर, अबको पुस्ता त्यो हदसम्मको त्याग गर्न तयार छैन । त्यसैले राज्य तथा निजीक्षेत्रले पनि नाट्यघर बनाउन सहयोग गर्नुपर्छ । उपलब्ध नाट्यघर पनि सहुलियत भाडादरमा उपलब्ध हुनुपर्छ । रङ्गमञ्चको विकास त्यसबेला मात्र सम्भव छ, जतिबेला देशमा स–साना थिएटर पर्याप्त मात्रामा उपलब्ध हुन्छन् । नेपालको हकमा हरेक जिल्लामा कम्तीमा एउटा थिएटर चाहिन्छ । राजधानीमा कम्तीमा १० स्थानमा यस्ता थिएटर उपलब्ध हुनुपर्छ ।
तपाईंको अनुभवमा अन्तरराष्ट्रिय रूपमा नेपाली रङ्गमञ्च कुन स्थानमा छ ?
मलाई यो भन्दा गौरव लाग्छ कि, पछिल्लो दशकको नेपाली नाटक अन्तरराष्ट्रिय स्तरको छ । हाम्रो विषयवस्तु र प्रस्तुति विश्वका कुनै पनि नाटकको तुलनामा कम छैन । नयाँ पुस्ताबाट आज निकै राम्रा कलाकार जन्मिएका छन् । निर्देशक र कलाकारको गुणस्तर पनि स्तरीय छ । केही वर्षअघिको तुलनामा हाम्रा थिएटरको प्रविधिमा पनि सुधार हुँदै गएको छ । राम्रो नाटकका लागि प्रविधिभन्दा विषयवस्तु र प्रस्तुति चाहिन्छ । हामी यी दुवै विधामा राम्रो क्षमता राख्छौं । पछिल्लो समय विभिन्न महोत्सवका शिलशिलामा नेपाली नाट्यकर्मी विदेश जाने र विदेशी कलाकार नेपाल आउने प्रचलन बढेको छ । नेपाली रङ्गमञ्चको विकासका लागि यो पनि सकारात्मक शुरुआत हो । हाम्रो पालामा अन्य मुलुकको नाट्यकर्मबारे थाहै थिएन । अनुमानका भरमा काम गर्नुपथ्र्यो । आज कलाकर्मीले सिक्ने अवसर पाएका छन् ।
पछिल्लो समय रङ्गमञ्चका कलाकारले चलचित्रमा अवसर पाइरहेका छन्, यसलाई कसरी मूल्याङ्कन गर्नुहुन्छ ?
रङ्गमञ्च र चलचित्रबीच घनिष्ट सम्बन्ध छ । रङ्गमञ्चबाट खारिएका कलाकारले चलचित्रमा अभिनय गर्दा चलचित्रको गुणस्तर बढ्छ भने कलाकारले पनि आर्थिक आधार प्राप्त गर्छ । त्यसैले यी दुवै क्षेत्रको विकासका लागि रङ्गमञ्च र चलचित्र क्षेत्रबीच समन्वयको खाँचो छ ।
अन्त्यमा, नेपाली रङ्गमञ्चको भविष्य कस्तो देख्नुहुन्छ ?
हामी लोककला र संस्कृतिमा धनी छौं । समृद्ध कलालाई रङ्गमञ्चमार्फत विश्वभर पु¥याउने दायित्व हामीमा छ । हाम्रो दायित्व केवल अभिनय गर्नुमात्र होइन । राजनीतिले भताभुङ्ग पारेको मुलुकलाई हामीले कलामार्फत पुनर्निर्माण गर्नुपर्ने जिम्मेवारी पनि पूरा गर्नुछ । मेरो विचारमा आगामी ५ वर्षभित्र दक्षिण एशियाली नाट्यक्षेत्रले विश्वमा नेतृत्व गर्नेछ, किनकी आज नेपालसहित बङ्गलादेश, भारत, श्रीलङ्कालगायत मुलुकमा पनि नाटकको तीव्र विकास भइरहेको छ । र यसमा युवाको सक्रियता उत्साहजनक छ ।
Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2025 New Business Age Ltd. All rights reserved.