काठमाडौं । नबिल इक्वीटी फण्डको स्कीम सूचीकरण खारेज भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले फण्डको स्कीम कात्तिक १६ गतेदेखि खारेज गरेको हो । योजना खारेज सम्बन्धमा फण्डले कात्तिक १६ गते सूचना प्रकाशित गर्न लागेकाले उक्त स्कीमको सूचीकरण खारेज गरेको जानकारी नेप्सेले दिएको छ ।
नबिल म्युुचुअल फण्डअन्तर्गत सञ्चालित नबिल इक्वीटी फण्ड सात वर्षे अवधिको बन्दमुखी योजना रहेको छ । यो योजना सञ्चालनका लागि योजना व्यवस्थापकले २०७३ भदौ १४ गते अनुमति प्राप्त गरेको थियो । २०७३ कात्तिक १९ गतेदेखि सञ्चालनमा रहेको यो योजना परिपक्कपश्चात खारेजी प्रक्रियामा जानेछ ।
योजना व्यवस्थापकले योजना परिपक्क हुँदासम्मको सम्पत्तिलाई नगदमा परिणत गरी सबै इकाईधनीहरूलाई इकाई संख्याको आधारमा नगद फिर्ता गर्नेछ । धितोपत्रमा लगानी गर्ने प्रमुख उद्देश्यसहित सञ्चालित यो योजनाको असोज मसान्तसम्म कुल सम्पत्ति १ अर्ब २९ करोड ६६ लाख ५३ हजार ८२८ रुपैयाँ छ ।
योजनाले १२ करोड ५० लाख इकाई जारी गरेको थियो । असोज मसान्तसम्म योजनको प्रतिइकाई खुद सम्पत्ति मूल्य १० रुपैयाँ ३३ पैसा छ ।