काठमाडौं । नबिल म्युचुअल फण्डअन्तर्गत सञ्चालित तीन ओटा फण्डले असोज मसान्तसम्मको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेका छन् । नबिल ब्यालेन्स्ड फण्ड २, नबिल इक्विटी फण्ड र नबिल ब्यालेन्स्ड फण्ड ३ ले असोज मसान्तसम्मको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेका हुन् ।
यी तीन ओटै फण्डको प्रतिइकाई खुद सम्पत्ति मूल्य (न्याभ) भदौ महीनाको तुलनामा असोज महीनामा घटेको छ । नबिल ब्यालेन्स्ड ३ को न्याभ भदौ मसान्तसम्म रू. ८ दशमलव २८ रहेकोमा असोज मसान्तसम्ममा रू.८ दशमलव १३ कायम भएको छ ।
त्यसैगरी नबिल ब्यालेन्स्ड फण्ड २ को न्याभ भदौमा रू. १० दशमलव ३६ रहेकोमा असोजमा रू.१० दशमलव १० कायम भएको छ । त्यस्तै नबिल इक्विटी फण्डको न्याभ भदौ मसान्तसम्ममा रू. १० दशमलव १५ रहेकोमा असोज मसान्तसम्ममा रू. ९ दशमलव ९३ मा झरेको छ ।
यी तीन ओटै फण्डको नोक्सानी भने भदौ मसान्तको तुलनामा असोज मसान्तमा बढेको छ । नबिल इक्विटी फण्डले भदौ महीनामा रू. ५ करोड ४४ लाख नोक्सानीमा रहेकोमा असोज महीनामा बढेर रू.८ करोड २६ लाख पुगेको छ ।
नबिल ब्यालेन्स्ड फण्ड ३ को भदौ महीनामा रू. ३ करोड ७० लाख नोक्सानी भएकोमा असोज महीनामा बढेर रू. ५ करोड ५३ लाख पुगेको छ । त्यसैगरी नबिल ब्यालेन्स्ड फण्ड २ भदौ महीनामा रू. ४ करोड ८३ लाख नोक्सानीमा रहेकोमा असोज महीनामा बढेर रू. ७ करोड ७५ लाख पुगेको छ ।
असोज महीनामा ती तीन ओटै फण्डको खर्च वृद्धि भएसँगै जम्मा आम्दानी ऋणात्मक रहेकाले नोक्सानी बढेको हो ।