काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय सौर्य गठबन्धनको पूर्ण सदस्य राष्ट्र बनेको छ । अन्तर्राष्ट्रिय सौर्य गठबन्धन(आईएसए) मा पूर्ण सदस्यका रुपमा सहभागी हुने नेपाल १०१ औँ मुलुक बनेको हो ।
भारतका लागि नेपालका कार्यवहाक राजदूत सुरेन्द्र थापा र भारतका निक्षेप प्रमुखसँग भेटघाटको क्रममा उक्त सम्झौता भएको भारतीय दूतावासले आफ्नो सामाजिक सञ्जाल एक्समार्फत जानकारी दिएको छ ।
यता भारतीय विदेश मन्त्रालयले पनि सामाजिक सञ्जालमार्फत नेपालले आफ्नो इन्स्ट्रुमेन्ट अफ रेग्रिफिकेसन नयाँ दिल्लीस्थित आईएसएलाई हस्तान्तरण गरेको जनाएको छ ।
नेपालका तर्फबाट थापा र भारतको परराष्ट्र मन्त्रालयका सहसचिव (ईडी एण्ड एमईआर) अभिषेक सिंहबीच भएको भेटवार्तामा उक्त सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।
नेपालले गत जेठ २४को प्रतिनिधि सभाको बैठकबाट‘अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आई एसए) को स्थापनासँग सम्बन्धित सम्झौतालाई अनुमोदन गरेको थियो । बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले प्रस्तुत गरेका थिए ।
विश्वव्यापी ऊर्जा सुरक्षा सुनिश्चित गर्न, ऊर्जाको विकासलाई निर्देशित गर्न र जलवायु परिवर्तनको असर कम गर्न भन्दै सन २०१५ मा भारत र फ्रान्सको संयुक्त प्रयासका रुपमा आईएसए स्थापना गरेका थिए ।
यो गठबन्धनले सौर्य स्रोतमा धनी देशहरुको गठबन्धन हो ।
गठबन्धनले सम्झौताका पक्ष राष्ट्रले आईएसएमार्फत आफ्ना आवश्यकता अनुरुप सौर्य ऊर्जा उत्पादन सम्बन्धी कार्यक्रमहरुमा सहकार्य गर्ने गर्छ ।