काठमाडौं । नेपाल बैंक लिमिटेडको अध्यक्षमा थान प्रसाद पंज्ञानी नियुक्त भएका छन् । फागुन ९ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले पंज्ञानीलाई अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।
नवनियुक्त अध्यक्ष पंज्ञानीले फागुन १२ गते नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीबाट पद तथा गोपनीयताको सपथ समेत ग्रहण गरिसकेका छन् । अध्यक्ष पंज्ञानीले बैंकको अध्यक्षको जिम्मेवारीसमेत सम्हालिसकेका छन् ।
यस बैंकले गत आर्थिक वर्ष ०८०/८१ को वार्षिक साधारण सभा चैत ६ गते बोलाएको छ । बैंकले ६५औं वार्षिक साधारण सभा बल्ल गर्न लागेको हो ।
सभाले गत आर्थिक वर्ष ०८०/८१ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ । साथै नियमावलीमा भएको व्यवस्था बमोजिम सर्वसाधारण शेयरधनीको तर्फबाट तीन जना सञ्चालकहरूको निर्वाचनको कार्यक्रम पनि सभाका लागि तय भएको छ ।
सभा प्रयोजनका लागि बैंकले फागुन २२ गते एक दिन बुक क्लोज गर्न लागेको छ । बुक क्लोजको आधारमा फागुन २१ गतेसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन योग्य हुनेछन् ।