चितवन । उद्योग वाणिज्य संघ, चितवनको आयोजना एवम् नेपाल-भारत कन्सुलेट जनरल अफ इन्डिया, वीरगञ्ज र पिएचडी चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिजको सहकार्यमा नेपाल-भारत आर्थिक साझेदारी शिखर सम्मेलन-२०२४ सम्पन्न भएको छ ।
भारत र नेपालको अग्रगामी द्विपक्षीय आर्थिक साझेदारी एजेन्डाहरूमा छलफल गर्न मंगलवार चितवनमा उक्त सम्मेलन आयोजना गरिएको हो । कार्यक्रममा मुख्य छलफलका विषयहरू नेपालमा रेमिट्यान्स, आयात, निर्यात र भुक्तानी सन्तुलन (बिओपी)का चुनौतीहरू व्यवस्थापनमा सहकार्य गर्ने, नेपालमा लगानी प्रवद्र्धन, दक्षिण एसियामा उपक्षेत्रीय सहयोग, भारत-नेपाल द्विपक्षीय सम्बन्ध विस्तार लगायत थियो ।
कार्यक्रममा भारत-नेपाल केन्द्र, पिएचडी चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिजका सचिव अतुल के. ठाकुरले नेपालको विद्यमान समष्टिगत आर्थिक परिदृश्यको चर्चा गर्दै शिखर सम्मेलनका उद्देश्यबारे प्रकाश पारेका थिए । नेपालको समृद्धिको सम्भाव्यता अध्ययन गर्न र भारत-नेपाल आर्थिक सहयोगको माध्यमबाट महामारीपछिका चुनौतीहरूको सामना गर्न सरकार-निजीक्षेत्र सहकार्य एवं समन्वय हुनुपर्ने उनले बताए । सम्मेलनले भारत-नेपाल द्विपक्षीय सहयोग बढाउन नयाँ मार्गचित्र तयार पार्ने समेत उल्लेख गरे ।
उद्योग वाणिज्य संघ, चितवनका अध्यक्ष सुमनकुमार श्रेष्ठले भारत र नेपालका व्यापारिक समुदायहरूबीच सहकार्य बढाउनुपर्ने आवश्यकता औंल्याए । चितवनको दिगो औद्योगिक विकासका लागि भारत-नेपाल द्विपक्षीय आर्थिक सहयोग महŒवपूणर् हुने उनले बताए । भारतीय पर्यटकलाई नेपाल भ्रमण गर्न समन्वयका लागि उनले महावाणिज्य दूतावासलाई आग्रह गरे ।
भारतीय वाणिज्यदूत, वीरगञ्जका देवी साहाई मीनाले भारत दशकौंदेखि नेपालको प्रमुख विकास साझेदार बनेको बताइन् । भारत सरकारले सीमापार व्यापारसम्बन्धी पूर्वाधार विकासका लागि सहयोग गरिरहेको उनले बताइन् । सम्मेलनमा उद्योग वाणिज्य संघ, चितवनका निवर्तमान अध्यक्ष चुननारायण श्रेष्ठ, नेपाल मामिलाविज्ञ महेशकुमार अग्रवाल, सीमा जागरण मञ्चका अतुल कोइरालालगायतले मन्तव्य राखेका थिए ।
कार्यक्रममा चितवन उद्योग संघ, चितवन चेम्बर अफ कमर्स, नवलपुर, गैंडाकोट, मध्यविन्दु, देवचुली, रत्ननगर, खैरहनी तथा राप्ती उद्योग वाणिज्य संघका प्रतिनिधि, उद्योग वाणिज्य संघ, चितवनका पदाधिकारीलगायत उद्योगी व्यवसायी सहभागी थिए ।