काठमाडौं । नेपाली डायस्पोराका अगुवाहरू प्रीति अधिकारी र साजन गौतमले अमेरिका आधारित भेन्चर क्यापिटल कम्पनी ‘मोमो भीसी’को औपचारिक शुरुआत गरेका छन् । यो कम्पनीले साइबरसुरक्षा, कृत्रिम बौद्धिकता (एआई), फिनटेक, डिजिटल हेल्थ, जैविक प्रविधि र दिगोपनजस्ता प्रविधि–केन्द्रित क्षेत्रमा प्रारम्भिक चरणका स्टार्टअपहरूमा लगानी गर्नेछ ।
मोमो भीसीले पूँजी मात्रै नभई संस्थापकहरूलाई मार्गदर्शन, रणनीतिक सहयोग र सामुदायिक भावना प्रदान गर्ने उद्देश्य राखेको छ ।
‘मोमो’ले आम नेपालीको मनमा जस्तो अपनत्वको भावना जगाउँछ, हामी पनि त्यही भावना बोकेर संस्थापकहरूसँग सहयात्रा गर्न चाहन्छौं,’ सह–संस्थापक अधिकारीले भनिन् । टीजीएनडीकी संस्थापक अधिकारीले पछिल्लो तीन वर्षमा १५० भन्दा बढी नेटवर्किङ कार्यक्रमको आयोजना गरी विश्वभर छरिएका नेपाली उद्यमीलाई एकसाथ ल्याउँदै आएकी छन् ।
सह–संस्थापक साजन गौतमले अमेरिकाको प्रमुख बैंक आर्भेस्ट बैंकमा चिफ इन्फर्मेशन सेक्युरिटी अफिसरको भूमिका निर्वाह गरेका थिए । उनले सीटी र ईवाई जस्ता जस्ता अन्तरराष्ट्रिय संस्थामा पनि काम गरिसकेका छन् ।
उनीहरूले तयार पारेको प्रविधि इकोसिस्टममा मोमो भीसी चौथो महŒवपूर्ण कार्यक्रम हो । यसअघि उनीहरूले द ग्रेट नेपाली डायस्पोरा (डायस्पोरा समुदायलाई सञ्जालमार्फत जोड्ने थलो), नेपाल भेन्चर स्टुडियो (स्टार्टअपहरूलाई एक्सेलेरेटर र तालीममार्फत सहायता दिने) र स्टार्टअप रिसोर्सेस् हब (संस्थापकहरूलाई आवश्यक सामग्री, टेम्प्लेट र जानकारी दिने स्रोत) सञ्चालनमा ल्याइसकेका छन् ।
‘स्टार्टअप इकोसिस्टमको समीक्षामा हामीले सशक्त सम्भावना देख्यौं । मोमो भीसी त्यसलाई विस्तार गर्न थप कदम हो,’ साजन गौतमले भने । कम्पनीले हालै ‘इमेरा’ नामक इमिग्रेशन टेक स्टार्टअपमा लगानी गरिसकेको छ । आगामी ३ देखि ५ वर्षमा अमेरिकामा दर्ता भएका ४० स्टार्टअपमा लगानी गर्ने लक्ष्य कम्पनीको छ । साथै, नेपालमै छुट्टै लगानी कोष शुरू गर्ने योजना पनि अगाडि बढाइएको छ ।
मोमो भीसी एक अमेरिकी भेन्चर क्यापिटल हो, जसले शुरुआती चरणका प्रविधि–आधारित स्टार्टअपहरूलाई पूँजी, रणनीतिक सल्लाह, योजना सहयोग र सञ्जाल उपलब्ध गराउँछ । यसको उद्देश्य दीर्घकालीन प्रभाव सृजना गर्दै संस्थापक र लगानीकर्ता दुवैलाई सक्षम बनाउनु हो ।