काठमाडौं । नेपाल र बंगलादेश ६८३ मेगावाट क्षमताको सुनकोशी ३ जलविद्युत् आयोजना बनाउन संयुक्त उपक्रमको समझदारीपत्रमा हस्ताक्षर गर्ने तयारीमा लागेका छन् । रामेछाप र काभ्रेपलाञ्चोक जिल्लाको सीमाक्षेत्रमा सुनकोशी नदीमा बन्ने यो परियोजना दुई देशले संयुक्त रूपमा बनाउने विषयमा लामो समयदेखि छलफल हुँदै आएको छ ।
दुई देशबीचका संयुक्त संयन्त्रहरू–उर्जा मन्त्रालयका सहसविचस्तरीय ज्वाइन्ट वर्किङ ग्रुप (जेडब्ल्यूजी) र सचिवस्तरीय ज्वाइन्ट स्टेरिङ कमिटी (जेएससी)को अर्को बैठकमा संयुक्त उपक्रम बनाउने समझदारीपत्रमा हस्ताक्षरको तयारीमा दुई देश लागेका हुन् । यी दुई संयन्त्रको बैठक असार ९ र १० गते पोखरामा गर्ने निश्चित भएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका प्रवक्ता नवीन सिंहले आर्थिक अभियानलाई बताए ।
‘यो बैठकमा सुनकोशी ३ परियोजना विकासका लागि संयुक्त उपक्रम बनाउने समझदारीपत्रमा हस्ताक्षर गर्ने गरी तयारी अगाडि बढेको छ,’ उनले भने, ‘सँगसँगै नेपालबाट बंगलादेश ४० मेगावाट बिजुली निर्यात गर्नेसम्बन्धी समझदारीमा हस्ताक्षर गर्ने एजेन्डा पनि बैठकको रहेको छ ।’
४० मेगावाट बिजुली बंगलादेश निर्यात गर्ने सन्दर्भमा पनि निश्चित सम्झौता गर्ने अर्को एजेन्डा
गत साल जेठ १ र २ गते बंगलादेशको पटुवाखाली क्षेत्रमा भएको यी दुई संयन्त्रको बैठकमा ६ महीनाभित्र नेपाल विद्युत् प्राधिकरण र बंगलादेश पावर डेभलपमेन्ट बोर्डबीच संयुक्त उपक्रमबाट सुनकोशी ३ परियोजना बनाउनेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गर्ने सहमति भएको थियो । ६ महीनाभित्र नभए पनि एक वर्षपछि समझदारीपत्रमा हस्ताक्षर गर्ने प्रयासमा दुई देश लागेको सरकारी अधिकारीहरू बताउँछन् ।
संयुक्त उपक्रममा कसको कति शेयर हुने भने टुंगो लागि नसकेको सिंहले बताए । नेपाल र बंगलादेश दुवै देशले भारतीय कम्पनीलाई पनि संयुक्त उपक्रममा सामेल गराउने इच्छा देखाएका छन् । भारतीय कम्पनी पनि संयुक्त उपक्रममा सामेल भएपछि उक्त परियोजनाबाट उत्पादित बिजुली बंगलादेश निर्यात गर्न सहज हुनसक्ने ठानेर दुवै देश भारतीय कम्पनीलाई संयुक्त उपक्रममा सामेल हुने बाटो खोल्न एकमत भएका छन् ।
‘नेपाल, भारत र बंगलादेशलगायत देशका अन्य कम्पनीहरूलाई संयुक्त उपक्रममा सामेल हुने बाटो खोल्ने गरी समझदारीपत्रमा हस्ताक्षर गर्ने प्रस्ताव छ,’ सिंहले भने । अघिल्लो संयुक्त संयत्रको बैठकमा दुवै पक्षले भारतलाई पनि सहमतिमा लिएर अघि बढ्न प्रयत्न गर्ने समझदारी बनेको अधिकारीहरूले बताएका छन् ।
संयुक्त उपक्रममा भारतीय कम्पनीलाई सामेल गर्न बंगलादेशसमक्ष प्रस्ताव गर्नुअघि नेपाल सरकारले आन्तरिक छलफल पनि चलाएको थियो । भारतले बंगलादेश, भुटान, भारत र नेपाल (बीबीआईएन)को जलविद्युत्मा आपसी सहयोग बढाउने विषयमा नेपाल र भारतबीच संयुक्त वक्तव्य आएको पनि २ वर्ष कटिसकेको छ । तर, हालसम्म त्रिपक्षीय छलफलसम्म हुन सकेको छैन ।
बंगलादेशले नेपालसँग किन्न लागेको ४० मेगावाट बिजुलीले त्रिपक्षीय सहयोगको एउटा उदाहरण बन्ने अपेक्षा गरिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल गतसाल भारत भ्रमणमा जाँदा भारतीय पक्षले पनि उक्त बिजुली भारतीय ट्रान्समिशन लाइनबाट बंगलादेश पुर्याउन सहजीकरण गर्ने समझदारी भएको थियो ।
नेपालबाट बंगलादेशमा ४० मेगावाट बिजुली निर्यात गर्नेसम्बन्धमा पाँचवर्षे व्यापार सम्झौता गर्ने समझदारी दुई देशबीच भइसके पनि हालसम्म बिजुलीको भाउमा सहमति भएको छैन । ‘नेपाल विद्युत् प्राधिकरणले प्रस्ताव गरेको भाउमा बंगलादेशले हालसम्म निर्णय नगरिसकेकाले ४० मेगावाट बिजुली निर्यात हुन सकेको छैन,’ सिंहले भने ।
भाउको विषयमा सहमति हुनेबित्तिकै त्रिपक्षीय समझदारी भई बिजुली निर्यात हुन थाल्नेछ । ‘यो वर्षयाममै बंगलादेशमा बिजुली निर्यात गर्ने प्रयत्न भइरहेको छ,’ सिंहले भने ।