सोचेर र बुझेर गरिएका राष्ट्रिय गौरवका परियोजनाहरूले भौतिक विकासमा इँटा थपेको मात्र हुँदैन जनतालाई मनोवैज्ञानिक रूपमा आत्मबल बढाउन पनि सहयोग गर्न सक्छ । सबैभन्दा ठूलो जलविद्युत् आयोजनाले चीन, सबैभन्दा ठूलो बाँधले अमेरिका चिनिएका छन् । देश विकासका लागि अभौतिक तर अति आवश्यक तत्त्व भनेको जनताको आत्मबल हो । नेपालले पनि जनतामा यहाँको भविष्य सुन्दर भएको कुनै न कुनै आधार देखाउन सक्नुपर्छ । त्यस्तो आधार नेपाल–चीन रेलमार्ग हो ।
विभिन्न सडकमार्ग र रेलमार्गले देशका अनेक ठाउँलाई एकआपसमा जोडेका हुन्छन् र एक ठाउँको उत्पादनलाई अर्को ठाउँमा पुर्याएर आपूर्ति शृंखलालाई बलियो बनाउँछन् । वस्तु तथा सेवाकोे मूल्यवृद्धि रोक्न यातायात तथा गोदामहरूले अनेक भूमिका खेलेका हुन्छन् । यस्तै समृद्धिको संवाहक अति कठिन मानिएको नेपाल–चीन रेलमार्ग हुनसक्छ । यो रेलमार्गको पूर्वसम्भाव्यता अध्ययन २०७५ को मङ्सिर महीनामा पूरा भएको थियो । त्यसपछि विस्तृत अध्ययनका लागि २०७८ मा चिनियाँ विदेश मन्त्री वाङ यी नेपाल आएको बेलामा समझदारी भएको थियो । काठमाडौंदेखि रसुवाको केरुङ हुँदै चीनको तिब्बतसम्म प्रवेश गर्ने यो मार्ग ७२ किमी लामो हुनेछ ।
रेलमार्गको अहिलेको लागत २ खर्ब ७१ अर्ब हुने अनुमान गरिएको छ । यसमा जग्गा अधिग्रहणको खर्च जोडिएको छैन । यो सम्भाव्यता अध्ययन भइरहँदा चीनमा जुन प्रविधिका रेलहरू थिए अहिले त्यो भन्दा उच्च प्रविधि चीनले विकास गरेको छ । त्यहाँ इलेक्ट्रोम्याग्नेटिकले अर्थात् चुम्बकका नर्थ र साउथ पोलको अल्टरनेशन तरीकाबाट लिक माथि उड्ने र अगाडि बढ्ने रेल बनेको छ । त्यस्तै प्रविधिबाट नेपालमा रेल केरूङ काठमाडौं ल्याउने हो भने नेपालको आयात र निर्यात दुवै सहज हुने भयो । नेपालको सामानले पनि चिनियाँ बजारमा सहज प्रवेश पाउने थियो । नेपाल विश्व प्रवेशको एकल निर्भरता अन्त्य भई वैकल्पिक मार्गको ढोका खुल्ने थियो ।
पारवहनको विकटताले गर्दा चीन र नेपालबीच आर्थिक, सामाजिक र सांस्कृतिक सामीप्य बढ्न सकेको छैन । यो मार्गले २ देशका आपसी समस्या र सम्भावनाले नजिकबाट बुझ्ने बाटो जुर्ने छ ।
ज्यादै महँगो परियोजना भएकाले नेपाल चीन रेलमार्ग बनाउनुपूर्व चीनसँग केही व्यापारिक सम्झौता हुन जरुरी छ जसमा यहाँको कुनै उत्पादनलाई उसले विनाभन्सार शुल्क किनिदिने बुँदा हुनुपर्छ । वैधानिक नेपाली सामान आवतजावतलाई कुनै पनि बहानामा अवरोध गर्न पाइने छैन र चीनको बाटो भएर तेस्रो विश्वसँग व्यापार गर्ने बाटो पनि सहज बनाइदिने प्रतिबद्धता चीनको तर्फबाट आउनु पर्छ । रेलमार्गको लागत, हवाईमार्ग र अन्य लामो मार्गहरूभन्दा सस्तो हुने विषय निश्चित हुने भएमात्र यो परियोजना नेपाल चीन दुवैका लागि लाभदायी हुनेछ । चीनको रेलमार्ग अहिले विश्वमै अत्याधुनिक भए तापनि नेपाल आउने रेलको गति १२० किमी प्रतिघण्टामात्र हुनेछ । नेपाल चीन रेलमार्गको गन्तव्य लामो हुने भएकाले एउटा असल छिमेकीको नाताले नेपाललाई विशेष सुविधा र सहयोग गरेमा मात्र यो विशाल परियोजनाले मूर्तरूप लिने छ । अन्यथा यो आयोजना कागजमा मात्र सीमित हुनेछ ।
यातायातको हवाईमार्ग छिटो, जलमार्ग लामो र सस्तो, सडकमार्ग लचिलो हुन्छ भने रेलमार्गले यी सबैको विशेषता समेटेर वितरण व्यवस्था र मानव भ्रमणमा सहयोग पुर्याएको हुन्छ । सन् १६०४ मा बेलायतको बेलिङटन शहरमा काठको पटरीमा घोडाले तान्ने रेलको आविष्कार गरिएको थियो । त्यसको विकसित स्वरूप अमेरिकामा सबैभन्दा लामो रेलमार्ग बनेको छ भने चीनमा जहाजभन्दा छिटो प्रतिघण्टा ६२३ किमीको गतिमा लिक माथि उड्ने रेलको आविष्कार भएको छ । विश्वको ९० प्रतिशत आवादीले रेलमार्गबाट फाइदा लिइरहँदा नेपालमा आज पनि जनकपुर जयनगर रेलमात्र चलनचल्तीमा छ । यस्तो परिदृश्यमा नेपाललाई रेलमाध्यमबाट विकसित हुने अवसर प्रदान गर्न चीनले अर्थिक, प्राविधिक अनुदान प्रदान गर्नुका साथै भविष्यमा व्यापारिक अवरोध नगर्ने सम्झौता पनि गर्नुपर्छ ।
सन १८२४ मा इन्जिनीयर रिचर्ड ट्रवेथिकले पहिलोपटक वाष्प इञ्जिनबाट रेलका डिब्बा तान्न सकेका थिए जब कि वाष्प इन्जिन १८१४ मा जर्ज स्टिपहेन्सनले बनाएका थिए । आज त्यो प्रविधिलाई उछिनेर अत्याधुनिक रेलको युगमा हामीहरू बाँचिरहेका छौं तर पनि नेपालले आफ्नो भौगोलिक र धरातलीय बाध्यताभित्र रहेर रेलमार्ग सम्बन्धमा विभिन्न प्रयास गरिरहेको छ । नेपालका लागि कुन मार्ग कति महत्त्वपूर्ण छ र त्यसले जनताको आत्मबलमा कस्तो असर पर्ला भनी गहन विश्लेषण गर्दा नेपाल केरुङ रेलमार्ग विभिन्न कारणले अत्यावश्यक छ ।
अहिले नेपालमा चारओटा रेलमार्गको सोच बनाइएको छ । पहिलोमा पूर्व पश्चिम रेलमार्ग पर्छ जसको सन् २०१० मा सम्भाव्यता अध्ययन भै सकेको छ । तराईका २१ ओटा जिल्ला छुने यो रेलमार्ग ९४३ किमी लामो हुने छ । स्ट्यान्डर्ड गेज १४३५ मिलिमीटरको हुनेछ । यसले देशका मुख्य शहरहरू बिर्तामोड, दमक, नारायणघाट, कोहलपुर महेन्द्रनगरलगायत तराईका सबै शहर छुने गरी डीपीआर बनिसकेको छ ।
तेस्रो महत्त्वपूर्ण रेलमार्ग रक्सौलदेखि काठमाडौं चोभारसम्म १४०.४० किमी लामो रेलमार्गको पनि सर्वेक्षण भएको छ । ४ खर्ब लागत अनुमान गरिएको यो रेलमार्ग पनि अति नै महत्त्वपूर्ण रहेको छ । ४२ किमीका करीब ३२ ओटा सुरुङमार्गमार्फत रेल काठमाडांै ल्याउने परियोजना पनि नेपालको विकासको कोसेढुङ्गाको रूपमा रहनेछ । त्यसैगरी काठमाडौं उपत्यकाका ३ जिल्ला छुने गरी लगभग ७८ किमिको मेट्रो रेलको पनि अध्ययनमा सरकार लागेको छ ।
यी सबैमध्ये केरुङ काठमाडौ रेलमार्गको निर्माणले उत्पन्न गर्ने उत्प्रेरणात्मक तरङ्गको महत्त्व अलि बढी हुन्छ । किनभने यसले नेपाललाई भारत र हवाईमार्ग पछि विश्वसँग सम्पर्क कायम गर्ने भरपर्दो माध्यमको ढोका खोल्नेछ । नेपालबाट चीनमा बेच्न सकिने र चीनमा त्यसको उत्पादन नहुने वा तुलनात्मक लाभका उद्योग खोल्न र काम गर्न नेपाली उद्योगपतिमा हौसला जगाउन सहायक बन्न सक्छ ।
नेपाल र केरुङको दूरी काठमाडांै नुवाकोट र रसुवा गरी ३ जिल्लाको ७२ किमी दूरी पार गरेर चीनको सीमामा पुगे पनि आशातीत लाभ लिनका लागि चीनभित्र ज्यादै लामो बाटो छिचोल्नुपर्ने आवश्यकता छ । किनकि यो मार्गबाट चीनको मुख्य व्यापारिक केन्द्रमा पुग्दा अर्को ५९९ किमी पार गर्नुपर्छ । कठिनाइ अनेक भए तापनि नेपाल चीन रेलमार्गले नेपाललाई आर्थिक रूपमा सम्पन्न बनाउन धेरै सहयोग पुर्याउनेछ । अत्यावश्यक वस्तुहरू दुवै देशबाट आयातनिर्यात गर्न सजिलो हुनेछ । साथै यो मार्गले विशाल चीनमा नेपालबाट कुनकुन वस्तु निर्यात गर्न सकिन्छ । त्यसको बजार खोज्न पनि सजिलो हुनेछ ।
वास्तवमा पारवहनको विकटताले गर्दा चीन र नेपालबीच आर्थिक, सामाजिक र सांस्कृतिक सामीप्य बढ्न सकेको छैन । यो मार्गले २ देशका आपसी समस्या र सम्भावनाले नजिकबाट बुझ्ने बाटो जुर्ने छ । हिमाली विकटताले गर्दा नेपाल र चीन छिमेकी भएर पनि नजिक हुन नसकेको वर्तमान परिवेशबाट मुक्ति पाउन यो मार्ग अति महत्त्वपूर्ण देखिएको छ ।
लेखक कैलाशकूट बहुमुखी क्याम्पसमा व्यवस्थापन विषय अध्यापन गर्दछन् ।