काठमाडौं। नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले तीनदिने ‘लिडरशीप एक्सेलेन्स अवार्ड २०२३’ सम्पन्न गरेको छ । साउन १७ देखि १९ गतेसम्म चलेको उक्त कार्यक्रम ‘सार्क वर्ष : पराक्रमी गति, आक्रामक नीति’ को थिममा आधारित रहेको बताइएको छ । कार्यक्रममा देशभरिबाट उत्कृष्ट व्यवसाय गर्ने १३० भन्दा बढी एजेन्सी तथा एजेन्सी मेनेजरको सहभागिता थियो ।
कार्यक्रममा कम्पनीका वरिष्ठ सञ्चालक कमलेशकुमार अग्रवालले देश आर्थिक मन्दीबाट गुज्रिरहेको समयमा पनि कम्पनीले गरेको व्यवसाय उत्साहप्रद रहेको बताए । नेपाल लाइफ जीवन बीमा क्षेत्रमा गौरवशाली इतिहास बोकेको स्थापित ब्रान्ड रहेको र यससँग जोडिन पाउनु सबैका लागि गौरवको विषय भएको उनको भनाइ थियो ।
कार्यक्रममा सञ्चालक विमलप्रसाद ढकालले नियमनकारी निकायद्वारा जारी गरिएका नीतिनियमको अधीनमा रही व्यवसाय गर्न सबैलाई आग्रह गरे । उनले विगतलाई स्मरण गर्दै नेपाल लाइफ यहाँसम्म आइपुग्दा धेरै उतारचढावको सामना गर्नुपरेको बताए । आगामी दिन थप चुनौतीपूर्ण हुने भएकाले थप जोश र जाँगरका साथ नवीनतम प्रविधिको प्रयोगसहित कार्यसम्पादन गर्न उनले आग्रह गरे ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले गएको आर्थिक वर्षको व्यापार समीक्षा गर्दै चालू आर्थिक वर्ष २०८०/८१ मा व्यावसायिक रणनीतिका बारेमा जानकारी गराए । कार्यक्रममा एजेन्सी मेनेजर तर्फबाट उत्कृष्ट ५० र व्यक्तिगत कोड तर्फबाट उत्कृष्ट ८१ अभिकर्तालाई सम्मान गरिएको थियो । कार्यक्रममा सम्मानसहित २० जनालाई सम्राट पदक, २३ जनालाई रत्न पदक र ६३ जनालाई समृद्धि पदकबाट विभूषित गरिएको थियो ।