काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले दुई कम्पनीमा १ अर्ब ३३ करोड ७२ लाख ८९ हजार ६०० रुपैयाँ बराबरको शेयर लगानी गर्ने भएको छ ।
गत आइतवार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले प्रोफेसनल एजुकेटर्स लिमिटेडमा ३५ दशमलव ३२ प्रतिशत र युनिग्लोब हायर सेकेन्डरी स्कुल, काठमाडौं लिमिटेडमा ४७ दशमलव ६२ प्रतिशत शेयर लगानी गर्ने निर्णय गरेको हो ।
कम्पनीले प्रोफेसनल एजुकेटर्स लिमिटेडमा ७३ करोड ७२ लाख ८९ हजार ६०० रुपैयाँ र युनिग्लोब हायर सेकेन्डरी स्कुलमा ६० करोड रुपैयाँ लगानी गर्ने भएको छ । दुवै कम्पनीसँग शेयर लगानीका लागि गत आइतवार नै सम्झौता भइसकेको जानकारी कम्पनीले सूचनामार्फत गराएको छ ।