काठमाडौं । नेपाल वेयरहाउजिङ्ग कम्पनी लिमिटेडले शतप्रतिशत हकप्रद शेयर जारी गर्ने भएको छ । असोज १४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजी ६८ करोड ७५ लाख रुपैयाँका आधारमा सोही रकम बराबरको हकप्रद शेयर जारी गर्ने निर्णय गरेको हो ।
हकप्रद शेयर निष्कासनको प्रस्ताव विशेष साधारण सभामार्फत पारित गर्ने निर्णय पनि कम्पनीले गरेको छ । यस कम्पनीले सर्वसाधारणमा प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा २०८० मंसिर १० गतेदेखि १३ गतेसम्म आईपीओ जारी गरेको थियो ।
मंसिर २० गते आईपीओ सर्वसाधारणमा बाँडफाँट गरेको कम्पनीले लगानीकर्तालाई शतप्रतिशत हकप्रद दिन लागेको हो ।
धितोपत्र दोस्रो बजारमा कम्पनीको शेयर मूल्य प्रतिकित्ता ९०० रुपैयाँभन्दा बढी कायम छ । गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरणअनुसार कम्पनी भने ८ करोड रुपैयाँभन्दा बढी खुद नोक्सानीमा छ ।
सो अवधिसम्म कम्पनी ११ रुपैयाँ ६४ पैसा प्रतिशेयर नोक्सानीमा छ भने प्रतिशेयर नेटवर्थ ८८ रुपैयाँ ४६ पैसा छ ।