काठमाडौं । नेपाल वेयरहाउजिङ्ग कम्पनी लिमिटेडले मंसिर १० गते (आज)देखि सर्वसाधारणका लागि आईपीओ जारी गरेको छ ।
कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्कासन तथा बाँडफाँटपछि सर्वसाधारणका लागि आईपीओ जारी गरेको हो ।
कम्पनीले आफ्नो जारी पूँजी ६८ करोड ७५ लाख रुपैयाँको २० प्रतिशतका दरले हुन आउने १३ करोड ७५ लाख रुपैयाँ बराबरको १३ लाख ७५ हजार कित्ता आईपीओ निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डले अनुमति पाएको हो ।
कुल कित्ता आईपीओमध्ये पहिलो चरणमा १० प्रतिशतले हुन आउन १ करोड ३७ लाख ५० हजार रुपैयाँ बराबरको १ लाख ३७ हजार ५०० कित्ता आईपीओ भने वैदेशिक रोजगारीमा रहेका नेपालीमा बाँडफाँट गरिसकेको छ । अब बाँकी रहेको शेयरमध्ये पनि २७ हजार ५०० कित्ता कम्पनीका कर्मचारीहरूका लागि र ६८ हजार ७५० कित्ता सामूहिक लगानीकोषका लागि सुरक्षित गरी ११ लाख ४१ हजार २५० कित्ता शेयर भने सार्वजनिक निष्कासनमा आएको हो ।
सार्वजनिक निष्कासनमा आउने आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म माग गर्न सकिनेछ । यो आईपीओ छिटोमा मङ्सिर १३ गतेसम्म विक्रीमा रहनेछ भने सो अवधिभित्र मागबमोजिम आवेदन नपरेमा भने ढिलोमा मङ्सिर २४ गतेसम्म विक्री लम्बिनेछ ।
तर, पछिल्लो समय सर्वसाधारणमा आईपीओ जारी हुँदा पहिलो दिनमा नै मागभन्दा बढी आवेदन पर्दै आएको अवस्थामा यस कम्पनीको आईपीओ पनि छिटो अवधि मङ्सिर १३ गतेसम्म मात्र विक्रीमा रहने निश्चित छ ।कम्पनीको आईपीओ निष्कासन तथा विक्री प्रबन्धकमा हिमालयन क्यापिटल लिमिटेड छ ।
विक्री प्रबन्धकसँगै नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका कार्यालयमार्फत आवेदन दिन सकिनेछ । साथै मेरो शेयर अनलाइनमार्फत समेत आवेदन दिन सकिने व्यवस्था छ ।
आईपीओ निष्कासनका लागि गराएको रेटिङ्गमा इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपाल लिमिटेडले कम्पनीलाई आईआरएन डबल बी माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यो रेटिङ्ग कम्पनीको दायित्व वहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।
कम्पनीको परिचय
नेपालको कम्पनी ऐन २०६३ बमोजिम स्थापना भएको यो कम्पनी किसान, अन्न संकलक, मिलर, व्यापारिक तथा औद्यौगिक प्रयोजनका लागि खाद्यान्नको लागि गोदामसम्बन्धी आवश्यकता पूर्ति गर्नका लागि स्थापना भएको हो । २०७४ जेठ २९ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा प्राइभेट लिमिटेड कम्पनीको रूपमा दर्ता भएको यो कम्पनी २०७५ भदौ ६ गते पब्लिक लिमिटेड कमपनीमा परिणत भई सञ्चालनमा छ ।
कृषकलगायत ग्राहकहरूले भण्डारण गर्नका लागि ल्याएका अन्नको गुणस्तर ह्रास हुन नदिई अन्नलाई वैज्ञानिक ढंगले भण्डारण गरी अन्नको प्रयोग अवधिलाई लम्ब्याउने कार्य सहितको सेवा यस कम्पनीले प्रदान गर्ने गर्दछ । सो कार्य प्रदान गरेबापत कृषकलगायत ग्राहकहरूबाट कम्पनीले भाडा प्राप्त गर्नेछ ।
रजिष्टर्ड कार्यालय काठमाडौंको सिनामङ्गलमा छ भने शाखा सुनसरीको गढी गाउँपालिका वडा नम्बर २ मा छ । साथै शाखा युनिट –१ कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर ४, वीरपुरमा र शाखा युनिट–२ पर्सा जिल्लाको पर्सागढी नगरपालिका वडा नम्बर १, बिरुवागुढीमा छ ।
पूँजी संरचना
अधिकृत पूँजी ७० करोड रुपैयाँ रहेको कम्पनीको जारी पूँजी ६८ करोड ७५ लाख रुपैयाँ छ । हाल संस्थापक तर्फबाट चुक्ता भएको पूँजी ५५ करोड रुपैयाँ कायम छ ।
कम्पनीले सर्वसाधारणतर्फ सम्पूर्ण कित्ता शेयर बाँडफाँटपछि चुक्ता पूँजी ६८ करोड ७५ लाख रुपैयाँ कायम हुनेछ । हाल संस्थापकतर्फ ८० प्रतिशत शेयर स्वामित्व कायम रहेको कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपाली, कर्मचारी तथा सामूहिक लगानीकोष समेत सर्वसाधारणमा २० प्रतिशत शेयर जारी गरेको हो ।
वित्तीय अवस्था
कम्पनीको वास्तविक वित्तीय विवरण अनुसार कम्पनी आर्थिक वर्ष ०७८/७९ सम्म ३ करोड ७ लाख रुपैयाँभन्दा बढी सञ्चित नोक्सानीमा छ । वास्तविक वित्तीय विवरण अनुसार कम्पनी ७ रुपैयाँ २८ पैसा प्रतिशेयर नोक्सानीमा छ भने प्रतिशेयर नेटवर्थ ८६ रुपैयाँ ८६ पैसा छ ।
गत आर्थिक वर्षको अन्त्यसम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार कम्पनी ७ करोड ९४ लाख रुपैयाँभन्दा बढी सञ्चित नोक्सानीमा छ । चालू आर्थिक वर्ष ०८०/८१ भित्र कम्पनीले सञ्चित नोक्सानी गत वर्षको तुलनामा घटाएर ४ करोड १५ लाख रुपैयाँमा झार्ने प्रक्षेपण गरेको छ ।
आगामी आर्थिक वर्ष ०८१/८२ भित्र भने कम्पनीले ६ करोड ९२ लाख रुपैयाँभन्दा बढी सञ्चित नाफा गर्ने प्रक्षेपण गरेको छ । आगामी आर्थिक वर्षभित्र १६ रुपैयाँ ११ पैसा प्रतिशेयर आम्दानी र ११० रुपैयाँ ७ पैसा प्रतिशेयर नेटवर्थ कायम गर्ने लक्ष्यसमेत कम्पनीको छ ।
सञ्चालक समिति
हाल कम्पनीमा चार सदस्यीय सञ्चालक समिति छ । आनन्द कुमार अग्रवाल बगडिया सञ्चालक समितिको अध्यक्ष छन् । दाना तथा तेल रिफाइनरी उद्योग सञ्चालकसमेत रहेका अध्यक्ष अग्रवाल बगडियाले कम्पनीको १ लाख कित्ता शेयर स्वामित्व ग्रहण गरेका छन् ।
अध्यक्ष अग्रवाल बगडियाले औद्योगिक उत्पादन इन्टरप्रिनियर व्यवस्थापनमा स्नातकोत्तर गरेका छन् । सञ्चालकहरूमा दीप प्रकाश पाण्डे, सतिश चन्द्र श्रेष्ठ र तेन्जिङ छुफेल लामा छन् । दीप प्रकाश पाण्डे बीमा क्षेत्रमा, सतिश चन्द्र श्रेष्ठ एग्रो फार्म तथा दाना उद्योग व्यवसायमा र तेन्जिङ छुफेल लामा कार्पेट क्षेत्रको व्यापार व्यवसायमा संलग्न छन् ।
पहिलो कारोबारका लागि कति पाउला मूल्य रेञ्ज ?
कम्पनीले प्राथमिक बजारमा प्रतिशेयर १०० रुपैयाँमा नै आईपीओ विक्री गरे पनि दोस्रो बजारमा भने वास्तविक प्रतिशेयर नेटवर्थको आधारमा त्यसको तीन गुणासम्मको मूल्य रेञ्ज पहिलो कारोबारका लागि पाउनेछ ।
प्राथमिक बजारमा विक्री तथा बाँडफाँटपछि कम्पनीको शेयर धितोपत्र दोस्रो बजार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत हुनेछ । सूचीकृत भएको दोस्रो कारोबार दिनदेखि कारोबारयोग्य हुने कम्पनीको आईपीओले पहिलो कारोबारका लागि न्यूनतम प्रतिकित्ता ८६ रुपैयाँ ८६ पैसादेखि अधिकतम प्रतिकित्ता २६० रुपैयाँ ५८ पैसासम्मको मूल्य रेञ्ज पाउने देखिन्छ ।