काठमाडौं । नेपाल वेयरहाउजिङ्ग कम्पनी लिमिटेडले सर्वसाधारणमा विक्री गरेको आईपीओ बाँडफाँट गरेको छ । विक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेडले बुधवार बिहान आईपीओ बाँडफाँट कार्यक्रम सम्पन्न गरेको हो ।
कम्पनीले सर्वसाधारणका लागि मङ्सिर १० गतेदेखि १३ गतेसम्म आईपीओ सार्वजनिक निष्कासन गरेको थियो । कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्कासन तथा बाँडफाँटपछि सर्वसाधारणका लागि आईपीओ जारी गरेको हो ।
कम्पनीले आफ्नो जारी पूँजी ६८ करोड ७५ लाख रुपैयाँको २० प्रतिशतका दरले हुन आउने १३ करोड ७५ लाख रुपैयाँ बराबरको १३ लाख ७५ हजार कित्ता आईपीओ निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डले अनुमति पाएको थियो ।
कुल कित्ता आईपीओमध्ये पहिलो चरणमा १० प्रतिशतले हुन आउन १ करोड ३७ लाख ५० हजार रुपैयाँ बराबरको १ लाख ३७ हजार ५०० कित्ता आईपीओ भने वैदेशिक रोजगारीमा रहेका नेपालीमा बाँडफाँट गरिएको हो ।
योबाहेक बाँकी रहेको शेयरमध्ये पनि २७ हजार ५०० कित्ता कम्पनीका कर्मचारीहरूका लागि र ६८ हजार ७५० कित्ता सामूहिक लगानीकोषका लागि बाँडफाँट गरी ११ लाख ४१ हजार २५० कित्ता शेयर भने सर्वसाधारणमा सार्वजनिक निष्कासन गरिएको हो ।
सार्वजनिक निष्कासनमा आएको शेयर खरीदका लागि १२ लाख ७६ हजार ५५८ जनाको आवेदन परेको विक्री प्रबन्धकको भनाइ छ । कुल आवेदकहरूमध्ये ११ लाख ९१ हजार ९९८ जनाको आवेदन मात्र रितपूर्वक भएको जानकारीसमेत विक्री प्रबन्धकले दिएको छ ।
रितपूर्वक नभएको भन्दै ८४ हजार ५६० जनाको आवेदन भने रद्द भएको समेत विक्री प्रबन्धकको भनाइ छ । मागभन्दा बढी आवेदन परेकाले योग्य आवेदकहरूलाई सहभागी गराई गोलाप्रथाको माध्यमबाट आईपीओ बाँडफाँट गरिएको हो । भाग्यमानी १ लाख १४ हजार १२५ जना आवेदकहरूले १० कित्ताका दरले शेयर पाएका छन् ।
नेपालको कम्पनी ऐन २०६३ बमोजिम स्थापना भएको यो कम्पनी किसान, अन्न संकलक, मिलर, व्यापारिक तथा औद्योगिक प्रयोजनका लागि खाद्यान्नको लागि गोदामसम्बन्धी आवश्यकताहरू पूर्ति गर्नका लागि स्थापना भएको हो ।
२०७४ जेठ २९ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा प्राइभेट लिमिटेड कम्पनीको रूपमा दर्ता भएको यो कम्पनी २०७५ भदौ ६ गते पब्लिक लिमिटेड कम्पनीमा परिणत भई सञ्चालनमा छ ।
कृषकलगायत ग्राहकहरूले भण्डारण गर्नका लागि ल्याएका अन्नको गुणस्तर ह्रास हुन नदिई अन्नलाई वैज्ञानिक ढंगले भण्डारण गरी अन्नको प्रयोग अवधिलाई लम्ब्याउने कार्य सहितको सेवा यस कम्पनीले प्रदान गर्ने गर्दछ । सो कार्य प्रदान गरेबापत कृषकलगायत ग्राहकहरूबाट कम्पनीले भाडा प्राप्त गर्नेछ । अधिकृत पूँजी ७० करोड रुपैयाँ रहेको कम्पनीको जारी पूँजी ६८ करोड ७५ लाख रुपैयाँ छ । हाल संस्थापक तर्फबाट चुक्ता भएको पूँजी ५५ करोड रुपैयाँ कायम छ ।
कम्पनीले सर्वसाधारणतर्फ सम्पूर्ण कित्ता शेयर बाँडफाँटपछि चुक्तापूँजी ६८ करोड ७५ लाख रूपैयाँ कायम भएको छ । कम्पनीको वास्तविक वित्तीय विवरण अनुसार कम्पनी आर्थिक वर्ष ०७८/७९ सम्म ३ करोड ७ लाख रूपैयाँभन्दा बढी सञ्चित नोक्सानीमा रहेको छ ।
वास्तविक वित्तीय विवरण अनुसार कम्पनी ७ रूपैयाँ २८ पैसा प्रतिशेयर नोक्सानीमा रहेको छ भने प्रतिशेयर नेटवर्थ ८६ रूपैयाँ ८६ पैसा रहेको छ । गत आर्थिक वर्षको अन्त्यसम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार कम्पनी ७ करोड ९४ लाख रूपैयाँभन्दा बढी सञ्चित नोक्सानीमा रहेको छ । चालू आर्थिक वर्ष ०८०/८१ भित्र कम्पनीले सञ्चित नोक्सानी गत वर्षको तुलनामा घटाएर ४ करोड १५ लाख रूपैयाँमा झार्ने प्रक्षेपण गरेको छ । आगामी आर्थिक वर्ष ०८१/८२ भित्र भने कम्पनीले ६ करोड ९२ लाख रूपैयाँभन्दा बढी सञ्चित नाफा गर्ने प्रक्षेपण गरेको छ ।
दोस्रो बजारमा पहिलो कारोबारका लागि कति पाउला मूल्य रेञ्ज ?
कम्पनीले प्राथमिक बजारमा प्रतिशेयर १०० रुपैयाँमा नै आईपीओ विक्री गरे पनि दोस्रो बजारमा भने वास्तविक प्रतिशेयर नेटवर्थको आधारमा त्यसको तीन गुणासम्मको मूल्य रेञ्ज पहिलो कारोबारका लागि पाउनेछ ।
प्राथमिक बजारमा विक्री तथा बाँडफाँटपछि कम्पनीको शेयर धितोपत्र दोस्रो बजार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत हुनेछ । सूचीकृत भएको दोस्रो कारोबार दिनदेखि कारोबारयोग्य हुने कम्पनीको आईपीओले पहिलो कारोबारका लागि न्यूनतम प्रतिकित्ता ८६ रुपैयाँ ८६ पैसादेखि अधिकतम प्रतिकित्ता २६० रुपैयाँ ५८ पैसासम्मको मूल्य रेञ्ज पाउने देखिन्छ ।