काठमाडौं । नेपाल वेयरहाउजिङ्ग कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण बल्ल सार्वजनिक गरेको छ । कम्पनीले सोमवार सार्वजनिक गरेको दोस्रो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार गत वर्षको तुलनामा यस वर्ष नोक्सानी घटेको छ । गत वर्ष दोस्रो त्रैमाससम्म ९ करोड २१ लाख रुपैयाँभन्दा बढी खुद नोक्सानीमा रहेको कम्पनीले यस वर्ष करिब ५ करोडले नोक्सानी घटाएर ४ करोड ४९ लाख रुपैयाँ भन्दा बढीमा झारेको छ ।
गत वर्षभन्दा यस वर्ष कम्पनीको आम्दानी बढेको र खर्च घटेकाले नोक्सानी घटेको देखिन्छ । गत वर्ष ६६ लाख १७ हजार रुपैयाँ जम्मा आम्दानी गरेको कम्पनीले ९ करोड ८७ लाख रुपैयाँभन्दा बढी जम्मा खर्च गरेको थियो । यस वर्षको सोही अवधिसम्म कम्पनीले १ करोड ८७ लाख रुपैयाँभन्दा बढी आम्दानी गरेको छ भने ६ करोड ३७ लाख रुपैयाँभन्दा बढी मात्र खर्च गरेको छ । यस वर्ष कम्पनीको कुल सम्पत्ति बढेर १ अर्ब ६५ करोड ६३ लाख रुपैयाँभन्दा बढी कायम भएको छ । हाल कम्पनीको चुक्तापूँजी ६८ करोड ७५ लाख रुपैयाँ छ ।
दोस्रो त्रैमाससम्म अदर इक्वीटी १६ करोड ९० लाख रुपैयाँभन्दा बढी ऋणात्मक देखिएको छ । कम्पनीले गत वर्ष ९३ करोड १० लाख रुपैयाँभन्दा बढी कर्जा सापटी लिएकोमा यस वर्ष बढाएर कर्जा रकम १ अर्ब ३ करोड रुपैयाँभन्दा बढी पुर्याएको छ । दोस्रो त्रैमाससम्म कम्पनीको कुल दायित्व रकम १ अर्ब १३ करोड रुपैयाँभन्दा बढी कायम छ । प्रतिशेयर ६ रुपैयाँ ५३ पैसा प्रतिशेयर नोक्सानीमा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ भने ७५ रुपैयाँ ४१ पैसा छ ।