काठमाडौं । नेपालले हालै गराएको सार्वभौम साख मूल्यांकन (कन्ट्री रेटिङ) को नतिजा तुलनात्मक रूपमा सकारात्मक आएको दाबी गर्दै विदेशबाट ऋण ल्याउँदा लागत कम पर्नसक्ने सरोकारवालाले बताएका छन् ।
अन्तरराष्ट्रिय क्रेडिट रेटिङ एजेन्सी फिचले बिहीवार सार्वजनिक गरेको नेपालको क्रेडिट रेटिङमा नेपालमा लगानी गर्नु केही जोखिमयुक्त रहेको ठहर गरी बीबी माइनस दिएको छ ।
यो रेटिङ दक्षिण एशियाका अन्य मुलुकको हालै गरिएको भन्दा राम्रो रहेको देखिन्छ । यो रेटिङले नेपालमा लगानी सामान्य जोखिमयुक्त रहे पनि धेरैले भन्ने गरेजस्तो गएगुज्रेको अवस्था नरहेको देखिएको सरकार तथा जानकारहरू बताउँछन् ।
त्यसैले विदेशी ऋणदाताले नेपालको सरकार तथा निजीक्षेत्रका कम्पनीहरूलाई तुलनात्मक सस्तो ब्याजदरमा ऋण उपलब्ध गराउन सक्ने उनीहरूको भनाइ छ ।
‘अब बैंक, वित्तीय संस्थाले विदेशबाट ऋण ल्याउँदा १ दशमलव ५ प्रतिशत मात्र लागत लाग्न सक्छ,’ स्ट्याण्डर्ड चार्टर्ड बैंकका नायब प्रमुख कार्यकारी अधिकृत (नायब सीईओ) गोरख राणाले अर्थ मन्त्रालयले शुक्रवार आयोजना गरेको पत्रकार सम्मेलनमा भने, ‘अहिले बैंक तथा वित्तीय संस्थाबाट ऋणदाताले ब्याजदरमा ४ देखि ४ दशमलव ५ प्रतिशतसम्म जोखिमबापत प्रिमियम थप रकम लिइरहेका छन् ।’
दुई दशकभन्दा लामो समय बैंकिङ क्षेत्रमा काम गरेका सिद्धान्तराज पाण्डे पनि सार्वभौम रेटिङपछि नेपाललाई प्रत्यक्ष वैदेशिक लगानी र विदेशबाट ऋण ल्याउन धेरै सहज हुने बताउँछन् ।
उनका अनुसार अहिले नेपालले पाएको नतिजा बीबी माइनस धेरै राम्रो हो, यसले विदेशबाट लगानी ल्याउन धेरै सहज हुन्छ । त्यस्तो लगानी अहिलेको लागतभन्दा आधा सस्तोमा ल्याउन सकिन्छ ।
‘आगामी दिनमा योभन्दा तल खस्किन दिनु हुँदैन,’ प्राइभेट इक्विटी कम्पनी बिजनेश अक्सिजन प्रालिका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत समेत रहेका उनले आर्थिक अभियानसँगको कुराकानीमा भने, ‘राज्य संयन्त्रले योभन्दा राम्रो स्कोर ल्याउनका लागि रेटिङ एजेन्सी फिचले भनेका काम प्रभावकारी रूपमा गर्नुपर्छ ।’ बिजनेश अक्सिजन र डोल्मा इक्विटी फन्ड जस्ता प्राइभेट इक्विटी फन्डले पनि विकास वित्तीय संस्थाहरू (डेभलपमेन्ट फाइनान्स इन्स्टिच्युशन–डीएफआई)हरूबाट ऋण ल्याई नेपालका विभिन्न निजीक्षेत्रका परियोजनामा लगानी गरेका छन् ।
एनएमबि, लक्ष्मी सन्राइज, सिद्धार्थ, ग्लोबल आइएमई र सानिमा बैंकले डीएफआईहरूबाट विदेशी ऋण ल्याएका छन् । तर, हाल देशमै सस्तोमा स्रोत जुटाउन सकिएको बेला विदेशी ऋणको ब्याजदर अलि महँगो भएको बैंकहरूको भनाइ छ ।
उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले पनि नेपालमा धेरैभन्दा धेरै वैदेशिक लगानी भित्त्याउन यो रेटिङले ठूलो सहयोग पुग्ने बताए । उनका अनुसार रेटिङकै आधारमा सरकारलाई समेत दातृ निकाय लगायतसँग ऋण लिन सजिलो हुनेछ । सरकार वा बैंक, वित्तीय संस्था लगायत निकायले अन्तरराष्ट्रिय बजारमा ऋणपत्र जारी गरेर पूँजी भित्त्याउन सक्ने अवस्थासमेत बन्छ ।
‘क्रेडिट रेटिङको नतिजाले नेपालको साख क्षमता उच्च रहेको, वित्तीय तथा आर्थिक क्षमता सबल रहेको र अन्तरराष्ट्रिय बजारबाट ऋण लिनुपर्दा न्यून ब्याजदरमा ऋण प्राप्त गर्न सक्ने अवस्था सृजना गरेको छ,’ शुक्रवार अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘यसले निजीक्षेत्रको विश्वास अभिवृद्धि गर्न र वैदेशिक लगानी आकर्षित गर्नसमेत सहयोग पुग्नेछ ।’
सार्वभौम क्रेडिट रेटिङमा ‘बीबी माइनस’ नतिजा प्राप्त गर्नुले नेपाली अर्थतन्त्रको संरचना, सार्वजनिक वित्त परिचालन र समष्टिगत आर्थिक तथा वित्तीय अवस्था लगानीमैत्री र उन्नत रहेको संकेत गरेको उनको दाबी छ ।