काठमाडौं। विश्व बैंकले दुई परियोजनाका लागि २ सय मिलियन अमेरिकी डलर (रू. २६ अर्ब ५१ करोड) बराबरको ऋण सहयोग गर्ने भएको छ ।
विश्व बैंकको कार्यकारिणी समितिको बैठकले उक्त निर्णय गरेको हो । उक्त सहयोगबाट नेपालको प्रादेशिक र स्थानीय सडक सञ्जाल विस्तार एवं मर्मत–सम्भारमा सहयोग पुग्ने बैंकले जानकारी दिएको छ ।
‘विश्व बैंक नेपालको समावेशी विकासमा सहयोग गर्न प्रतिबद्ध छ । विश्व बैंकको इन्टरनेशनल डेभलपमेन्ट एशोसिएशन (आईडीए) मार्फत हामीले सेवा र पूर्वाधारमार्फत नेपालीको जीवनस्तर सुधारका लागि सहयोग केन्द्रित गरेका छौं,’ बैंकका माल्दिभ्स, नेपाल र श्रीलंकाका देशीय निर्देशक फेरिस हदाद–जर्भोसले भने ।
वाशिङटन डिसीस्थित बैंकको प्रधान कार्यालयले शुक्रवार जारी गरेको विज्ञप्तिअनुसार नेपाललाई प्रदान गरिने सहायता रकममध्ये १ सय मिलियन (करीब रू. १३ अर्ब २५ करोड) रकम राजस्व संकलनमा सुधार ल्याउन र ऋण व्यवस्थापनको पारदर्शिता अभिवृद्धिमा उपयोग गरिनेछ ।
प्रत्यक्ष वैदेशिक लगानी प्रक्रियालाई स्वचालित बनाउन उक्त रकम प्रयोग गरिने बताइएको छ । यस्तै सय मिलियनभन्दा बढी रकम भने प्रादेशिक (मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेश) र स्थानीय सडक पूर्वाधारको मर्मतसम्भारमा खर्च हुनेछ । त्यसबाट सेवा प्रवाहमा प्रभावकारिताका साथै स्थानीय समुदायमा सहज पहुँच पुग्ने बताइएको छ ।