काठमाडौँ– ग्लोबल मोबिलिटी र अर्बन सर्भिस प्लेटफर्म इन्ड्राइभले नेपालमा औपचारिक रूपमा आफ्नो सेवाको शुरुआत गरेको छ । नेपालमा आधिकारिक रुपमा सञ्चालनमा नरहेको भएपनि इन्ड्राइभले सेवा भने दिंदै आएको थियो ।
यसअघि कमिशन रहित सेवा दिंदै आएकोमा अब भने न्यूनतम १० प्रतिशत कमिशन लिएर सेवा प्रदान गर्ने भएको हो ।
इन्ड्राइभले नेपालका लागि रिता पोख्रेललाई निर्देशक तोकेको छ। प्रयोगकर्ताहरूलाई निर्बाध र सुरक्षित भुक्तानी गर्न सजिलो होस् भनेर पेमेन्ट पार्ट्नरको रुपमा आइएमइसँग साझेदारी गरेको जनाएको छ ।
इन्ड्राइभले ट्याक्सी, मोटरसाइकलमा राइड शेयरिङको सेवा दिनेछ । त्यस्तै डेलिभरी, अन्तर–शहर यात्रा (सिटी टु सिटी) राइड सेवा पनि दिने जनाएको छ ।
इन्ड्राइभमा आफ्नै भाडा प्रस्ताव, चालक छनोट, आफ्नो रोजाइमा सुरक्षित हुन सकिने,इन्ड्राइभमा आउनु अगाडि प्रत्येक चालकको आधारभूत जानकारी र कागजातहरू एपमा समावेश हुनुपर्ने ,चालकको रेटिङ र उनीहरूले कतिओटा राइड गरिसकेका छन् भन्ने कुरा हेर्न सकिने मुख्य विशेषताहरू रहेका छन् ।
त्यस्तै यात्रुको सुरक्षाका लागि एपमा अन्य धेरै फिचर्स समेत रहेका छन् भने यात्रु बीमाको लागि पहल भइरहेको जनाएको छ ।